वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा बजार असन जस्तो सानो भएकोभन्दै सडक विस्तार गर्नुपर्ने औंल्याएका छन् ।
बुधबारबाट हेटौंडामा सुरु भएको जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभा उद्घाटन गर्दै उनले सरकारले कुनै पनि दिन आफ्नो राइट अफ वे क्लियर गर्नसक्ने औंल्याए । ‘सडक विस्ताका लागि अब सरकारले धेरै दिन पर्खिदैन । केही अल्टरनेट उपाय भए गर्नुस् ।’,
उनले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्नी ट्रान्सप्लान्ट स्थापना हुने दावी गरे । ‘यसका लागि हामीले बजेट विनियोजन गरेका छौं ।’, पाण्डेले प्रदेशको १३ वटै जिल्लाका अस्पतालबाट डाइलासिस सेवा सुरु हुने बताए । कृषि औजार र रासायनिक मलको कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग प्रदेश सरकारले छलफल गरिरहेको उनले बताए ।
हेटौंडामा विश्वविद्यालय स्थापनाको तयारी समेत अगाडि बढेको मुख्यमन्त्री पाण्डेको दावी थियो । उनले भूमिका नै नभएको जिल्ला समन्वय समिति अब नरहने सक्ने बताए । ‘जिसस सक्रिय भएको खण्डमा भूमिका बढ्दै जान्छ ।’, मुख्यमन्त्री पाण्डेले स्थानीय तहसंग समन्वय गरेरै प्रदेश सरकारले काम गर्ने र यसवर्षबाट वडा समाजवादी कार्यक्रम लागू गर्न लागेको बताए ।
जिसस सदस्य सदस्य सुमित्रा लामाले स्वागत गरेको कार्यक्रममा नीति तथा कार्यक्रम उपप्रमुख सानुकाजी लुईंटेलले प्रस्तुत गरेका थिए । जिल्लासभामा राक्सिराङ गाउँपालिका प्रथम, इन्द्रसरोबर गाउँपालिका द्वितीय र वाग्मती गाउँपालिका तृतीय घोषणा गर्दै सम्मानित गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना लामा, वरिष्ठ पत्रकार प्रताप विष्ट र जिसस पूर्वप्रमुख रघुनाथ खुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।