मंसिर २० गतेदेखि हेटौंडाको मुख्यबजारमा सवारी आवागमनमा रोक लगाएर सडक विस्तार गर्ने तयारी अगाडि बढाइएको छ ।
सडक विस्तारको समयमा राजमार्ग सुचारु गर्न बाइपास रोडहरू सञ्चालन गरिने र बजार क्षेत्र पूर्णरुपमा बन्द गरिने भएको हो । बुधबार बिहान डिभिजन सडक कार्यालयका प्राविधिकसहित प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले चौकीटोलहुँदै रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गरेका छन् ।
बाइपास मार्गहरू निरीक्षण गरी आवश्यकता अनुसार सडक मर्मत गरी बैकल्पिकरुपमा यातायात सञ्चालनको व्यवस्था गर्न लागिएको हो । हेटौंडाबाट काठमाडौँ–भैँसे हुँदै आउने सवारीसाधनलाई चौकीटोल हुँदै राप्ती नदी उकास क्षेत्रबाट राप्ती पुल त्रिवेण्ीधाम भएर रातोमाटेतर्फ जाने व्यवस्था मिलाइने तयारी भएको छ ।
पूर्व–पश्चिम राजमार्गतर्फ हुँदै पूर्व जाने सवारीलाई राप्ती किनारहुँदै रातोमाटे, मदनभण्डारी लोकमार्ग र कान्तिलोक पथहुँदै आउने सवारीलाई कमाने हुँदै रातोमाटे निस्कने गरी बजार क्षेत्रमा सवारी प्रवेश रोक्ने व्यवस्था मिलाउने तयारी भएको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
२० गते अगावै वाइपास सडक मर्मतको कार्य सक्ने तयारी भएको उनले बताए ।