२०८२ चैत्र २९, आईतबार    

कांग्रेसद्वारा हेटौंडा उपमहानगरको बैठक बहिष्कार

२०८२ मंसिर ११, बुधबार १७:४९ बजे

नेपाली कांग्रेस र समाजवादीको तर्फबाट हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

बुधबार विहान ८ बजेका लागि बोलाइएको कार्यपालिका बैठकमा कांग्रेस नौजना वडा अध्यक्षसहित उपमेयर राजेशकुमार बानियाँ र समाजवादीबाट निर्वाचित एकजना वडा अध्यक्ष सहभागी नभएपछि बैठक सुरु नै नभइ स्थगित गरिएको हो । अघिल्लो कार्यपालिका बैठकमा मेयर मीनाकुमारी लामाले कांग्रेस निकट वडाअध्यक्षहरुलाई आफ्नो धारणा राख्ने समय नदिएपछि बैठकमा सहभागी नभएको उनीहरुले बताएका छन् । ‘आफ्नो धारणा राख्नै नपाउने भएपछि बैठकमा किन सहभागी हुनु भनेर हामी गएनौं ।’, कांग्रेसबाट निर्वाचिन एक वडाअध्यक्षले भने ।

उनका अनुसार एमालेबाट निर्वाचित केही वडाअध्यक्षहरु बैठकका लागि हेटौंडा उपमहानगरपालिकामा उपस्थित भएपनि बैठक नबसेपछि फर्किएका थिए । हेटौंडा उपमहानगरको कार्यपालिका २९ सदस्यीय रहेको छ । बैठक विहीबार विहान ९ बजेका लागि पुनः बोलाइएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

हेटौंडा उपमहानगरका प्रवक्ता एवम् कांग्रेसको तर्फबाट १ नम्बर वडामा निर्वाचित भएका वडाअध्यक्ष सविन न्यौपानेका अनुसार अघिल्लो बैठकको ऐजेण्डामाथि छलफलको क्रममा मेयर लामाले वडा अध्यक्षहरुलाई बोल्ने समय उपलब्ध नगराएपछि हालको अवस्था सिर्जना भएको हो । ‘अघिल्लो बैठकमा ऐजेण्डामाथि छलफल गर्दा हामीले आफ्नो धारणा राख्न फ्लोर मागेका थियौं । तर, पाएनौं । त्यसकारण यस वैठकमा हामी गएनौं ।’, उनले भने ।

मेयर लामाले विहीबार विहान ८ बजे कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र उपमेयरसँग समस्या समाधान गर्न आन्तरिक गृहकार्य गरिरहेको सचिवालय स्रोतले जनाएको छ । ‘भोली विहान छलफल गर्ने र सहमतिपश्चात् कार्यपालिका बस्ने तयारी भइरहेको छ ।’, सचिवालय स्रोतले भन्यो ।