नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यसवर्ष पनि सहकार्य हुने भएको छ ।
फ्रेन्चाइज टोली जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा संयुक्तरुपमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका प्रिन्सिपलले सम्झौतामा हस्ताक्षर गर्दै क्रिकेट खेलको विकास र शिक्षामा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
सम्झौता अनुसार कलेजले आर्थिक तथा शैक्षिक क्षेत्रमा बोल्ट्सलाई सहयोग गर्ने बुझिएको छ । क्लबका खेलाडीले प्रयोग गर्ने हेलमेट, क्याप र ह्याडसमा म्यानेजमेन्टको लोगो प्रयोग हुनेछ ।
जनकपुरका कप्तान अनिल साह र व्याटर शुभ कंस्कार यसै कलेजमा अध्ययन गरेका कारण सम्झौतालाई नवीकरण गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए । ‘म्यानेजमेन्टले लामो समयदेखि खेलकुदको क्षेत्रमा लगानी गरिरहेको छ । हामी जनकपुरसँग जोडिन पाउँदा असाध्यै खुशी छौं ।’, प्रिन्सिपल जोशीले भने ।
क्लबका सहलगानीकर्ता सिग्देलले यसवर्ष उपाधि रक्षा गर्ने अभियानका साथ टोली तयार पारेको दावी गरे । यसवर्षको एनपीएल मंसिर १ गतेबाट काठमाडौंमा हुँदैछ । त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो संस्करण फ्ल्डलाइटमा खेलाउने तयारी भइरहेको छ ।