२०८२ चैत्र २९, आईतबार    

हेटौंडाको सडक विस्तार गर्न २० वटा डोजर रेडी, जनकपुर र काठमाडौं थप ल्याइँदै

२०८२ मंसिर १२, बिहीबार १३:२३ बजे

हेटौंडा बजार क्षेत्रभित्र मुख्यराजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तारको चर्चासँगै डिभिजन सडक कार्यालय आन्तरिक तयारीमा जुटेको छ ।

सडक विस्तारको क्रममा डोजरलगायत हेभी इक्विपमेन्ट अभाव नहोस् भनेर कार्यालय तयारीमा जुटेको हो । स्रोतका अनुसार सडक विस्तार गर्न पहिलो चरणमा २० वटा डोजर प्रयोग गर्ने तयारी भइरहेको छ । यसका लागि कार्यालयले जिल्लाको विभिन्न स्थानमा रहेको डोजर तथा हेभी इक्विपमेन्ट संकलन गरिरहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी यादब सुवेदीका अनुसार आवश्यक परेको खण्डमा जनकपुर र काठमाडौंबाट थप साधन ल्याइनेछ ।

‘अहिले प्राकृतिक विपद्को समय होइन । जसका कारण हामीलाई डोजरको समस्याहुँदैन । हाम्रो कार्यालयकै हेभी इक्विपमेन्टले पुग्छ । आवश्यक परेमा थप ल्याउनेछौं ।’, उनले भने ।

सडक डिभिजन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोकहुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट २५र२५ गज दायाँबायाँ निर्माण भएका स्थायी–अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ ।