मकवानपुरको दुर्गम गाउँमा रहेको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवतीका लागि पर्खिने (वेइटिङ) घर निर्माण गरिएको छ ।
टाढाका बस्तीबाट सुत्केरी हुन आउने गर्भवतीलाई खाना, बस्ने सुविधाका लागि स्वास्थ्य चौकीमा छुट्टै भवन निर्माण गरिएको हो ।
कैलाश गाउँपालिका-७ ङिको (हाम्रो) स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको वेइटिङ भवनको गाउँफालिका अध्यक्ष लोकबहादुर मोक्तानले शुत्रबार उद्घाटन गरेका थिए । अध्यक्ष मोक्तानले गर्भवतीको सुत्केरी आमा र नवजात शिशुको सुरक्षाका लागि खाना र बस्ने सुविधासहितको घर निर्माण गरिएको बताए ।
साविकको भार्ता गाविसमा पर्ने (हालको कैलाश गाउँपालिका-७) ताम्लाङमा पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले व्यक्तिगत लगानीमा २०७६ सालमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् । उक्त स्वास्थ्य चौकीको नाम पनि चेपाङ भाषामा ‘ङिको’ स्वास्थ्य चौकी राखिएको छ ।