२०८१ बैशाख १२, बुधबार    

फाइनल पुग्न फ्रान्स र मोरक्को खेल्दै

२०७९ मंसिर २८, बुधबार १०:५३ बजे

फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनेको इतिहास छ ।

यसअघिको तीन संस्करणको च्याम्पियन २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको सन्दर्भमा आफ्नो टोली त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्दा प्रशिक्षक डेसच्याम्प्स सन्तुष्ट छन् ।

‘हामी सेमिफाइनलमा पुगेका छौं, फाइनलको नजिक छ, र यो एक महत्वपूर्ण उपलब्धि थियो, त्यसैले हामी आफैंमा विश्वास गर्न सक्छौं, तर हामीसँग बुधबार ठूलो खेल छ ।’ प्रशिक्षक डेसच्याम्प्सले, ‘हामी अझै अगाडि बढ्न चाहन्छौं भने पनि हामीले अहिलेसम्म गरेका काममा सन्तुष्ट हुन सक्छौं । विगतमा, विश्व च्याम्पियनहरूले सधैं विश्वकपमा राम्रो प्रदर्शन गरेका छैनन् र हामीले त्यो चुनौतीलाई पार ग¥यौं, तर बुधबार हामीसँग महत्वपूर्ण खेल छ ।’

फ्रान्सको काँधमा ठूलो अपेक्षा छ । मोरक्कोले स्पेन र पोर्चुगललाई हराएर अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको मोरक्को त्यही सनसनी पूर्ण प्रदर्शन गर्दै विश्वकपको इतिहासमा पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यही सनसनी मोरक्कोसँग प्रशिक्षक डेसच्याम्प्स सचेत छ ।

‘यो शानदार छ, कोच वालिद रेग्रागुईले हासिल गरेको छ ।’ प्रशिक्षक डेसच्याम्प्सले थपे, ‘मोरक्कोले खेलेको छ र विश्वका केही उत्कृष्ट टोलीहरूलाई हराएको छ । यो ऐतिहासिक उपलब्धि हो ।’ फ्रान्सलाई प्रतिबन्ध र चोटले बिथोल्ने छैन । सबै खेलाडी पुर्ण रुपमा फिट रहेका छन् । फ्रान्सले समूह चरणमा अष्ट्रेलिया, डेनमार्कलाई पराजित गर्दा ट्युनिसियासँग हार बेहोरेपनि समूह विजेता बनेको थियो । प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई र क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

टोलीसँग स्टार फरवार्ड केलियन एमबाप्पेसँगै भेट्रान फरवार्ड ओलिभर जिरुडको साथ रहेको छ । यि दुईको यस विश्वकपमा गज्जवको समन्वय मिलेको छ । ओलिभर जिरुडले मोरक्कोविरुद्ध गोल गर्न सके उनी एकै विश्वकपमा पाँच गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन् ।

यता, मोरक्को विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै मोरक्कोको इतिहासमा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । यस विश्वकपमा मोरक्कोले थुप्रै इतिहास बनाइसकेको छ । मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली हो ।

मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको छ । त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो । तर, त्यही सनसनी मोरक्कोलाई चोट र प्रतिबन्धले पिरोल्न सक्नेछ । सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा उपलब्ध हुनेछैनन् । चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना न्युन छ ।

मोरक्को अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल टोली हो । मोरक्कोले समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी, बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्यो । प्रि–क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा तथा क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर मोरक्कोले अन्तिम चारको यात्रा तय गर्न सफल भएको टोली हो । मोरक्कोले आफ्नो विश्वकप अपराजित दौडलाई ६ खेलसम्म लम्ब्याएको छ, जुन अफ्रिकी राष्ट्रका लागि कीर्तिमान हो ।

पोर्चुगलविरुद्ध युसेफ एन नेसिरीको उत्कृष्ट हेडरले मोरक्कोलाई अन्तिम चारमा पु¥यायो । टोलीसँग हाकिम जिएच, अचरफ हाकिमी र सोफियान बौफल जस्ता स्टार खेलाडी छन् । विश्वकपमा मोरक्कोले ५ खेल खेल्दा चार क्लिनसिट राखेका छन् । क्यानडाविरुद्धको खेलमा पनि आत्मघाती गोल भएको थियो ।

यो तथ्यांकको आनन्द लिनुपर्दछ, किनकि यसअघि इटाली र स्पेनले एकै विश्वकपमा पाँच क्लिन सिट राख्दै उपाधि समेत जितेको थियो । इटालीले सन् २००६ मा तथा स्पेनले २०१० मा पाँच क्लिन सिट राख्दै च्याम्पियन बनेको थियो । फ्रान्सको सामना गर्नुअघि मोरक्कोले ५ खेलमा हार बेहोरेको छैन ।

यि दुई टोली हालसम्म ११ पटक भिडेका छन् । कुनै पनि ठुलो प्रतियोगितामो यि दुई टोलीको यो पहिलो भेट हुनेछ । ति ११ भेटमा दुई मैत्रीपूर्ण खेल रहँदा बाँकी ९ खेल विभिन्न प्रतियोगिता रहेको छ ।

त्यसमा ७ खेल फ्रान्सले जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।