२०८१ बैशाख १३, बिहीबार    

मकवानपुर प्रहरीले बसमा हतियारसहित गस्ती गर्ने

२०७९ आश्विन १०, सोमबार १७:३२ बजे

नजिकिँदै गरेको चाडपर्व लक्षित गरी मकवानपुर प्रहरीले सुरक्षित यात्रामा सहयोग गर्नका लागि रात्री बसमा हतियारसहित गस्ती गर्ने भएको छ ।

मकवानपुरको सीमामा पर्ने पश्चिममा लोथरदेखि दक्षिणमा चुरिया माई मन्दिरसम्ममा छवटा प्रहरी टोलीले यात्रुबाहक बसमा रातीको समयमा हतियारसहित गस्ती गर्ने जनाएको छ । यसक्षेत्रमा चाडपर्वको समयमा लुटपाट हुनसकने आँकलन गर्दै प्रहरीले यस्तो सुरक्षा योजना बनाएको हो ।

‘चाडपर्वको समयमा धेरै सवारी आउजाउ हुन्छ । प्रहरी बसमा भएपछि यात्रुलाई पनि सहज र सुरक्षित महसुस हुन्छ । त्यसैले हामीले यस्तो योजना बनाएका हौं ।’, मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले भने ।

प्रहरीले जिल्लाभर नौ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी लामो दुरीका यात्रुलाई आवश्यक सहजीकरण समेत सुरु गरिसकेको उनले बताए । चाडपर्व लक्षित गरेर मकवानपुर प्रहरीले सुरक्षा योजना नै बनाएर काम गरिरहेको छ । जिल्लाभर दैनिकरुपमा सवारी चालकहरुको मादक पदार्थ र लागूपदार्थ सेवनको परीक्षण गर्ने व्यवस्था प्रहरीले गरेको छ ।

‘बैंक तथा वित्तिय संस्था र भीड हुने स्थानमा हामीले बर्दी र सादा पोशाकमा प्रहरी खटाइसकेका छौं ।’, उनले २४ सैं घण्टा प्रहरी गस्तीको व्यवस्था मिलाइएको बताए ।