२०८१ बैशाख २०, बिहीबार    

एमालेको पार्टी प्रवेशमा कमल थापा अतिथि

२०७९ आश्विन २४, सोमबार १६:४० बजे

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा नजिकिँदै गरेको निर्वाचन लक्षित गरी मकवानपुर जिल्लामा आफ्नो सक्रियतालाई बढाइरहेका छन् । सोही क्रममा सोमबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा थापा अतिथि बनेका छन् ।

नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई थापाले स्वागत गरेपछि जिल्लाको राजनीतिमा हलचल मच्चिएको छ । हेटौंडा–४ स्थित सानोपोखरामा रहेको एमाले पार्टी कार्यालयमा पुगेर थापाले कार्यक्रममा सम्बोधन समेत गरेका थिए । थापा एमालेको सहयोगमा मकवानपुर–१ क्षेत्र नम्बरबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । उनले एमालेको चुनाव चिन्ह सूर्य लिएर उम्मेदवार बनेका हुन् ।

उनले एमाले मकवानपुरको बलियो शक्ति रहेको र जितेको अनुभव धेरै भएकोभन्दै सोही रणनीति अनुसार अगाडि बढ्न आफू तयार रहेको बताए । ‘चुनावको अनुभव हामीसँग पनि छ । हामीसँग हारेको अनुभव छ । यो काम लाग्दैन । त्यसैले तपाईंहरुको अनुभव प्रयोग गर्न चाहान्छु ।’, उनले देशको राजनीतिक घटनाक्रम र परिस्थितीले अहिलेको अवस्था सिर्जना भएको बताए ।