बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती प्रदेश सरकारको चालू आवको ४ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ । आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा पनि उत्साहजनक रुपमा बजेट खर्च गर्न नसकेको हो ।
गत आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो । आवको शुरुमा बजेट खर्चमा सुस्त देखिँदै आएको बागमती सरकार यो आवमा पनि खर्चमा कमजोर देखिएको हो। बागमती प्रदेश सरकारले चालू आव ०७९/८० को पहिलो चौमासिकमा १० प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
चालू आवको साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा कूल बजेटको १० प्रतिशत मात्रै बजेट खर्च भएको हो । प्रदेश सरकारले चालू आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रूपैयाँको बजेट ल्याएकोमा पहिलो ४ महिनामा ७ अर्ब ११ करोड ६१ लाख ३ हजार ७६३ रूपैयाँ मात्रै खर्च भएको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार प्रदेश सरकारले पहिलो ४ महिनामा १४ दशमलव १४ प्रतिशत चालू खर्च गरेको छ । २७ अर्ब ३० करोड ९५ लाख ४९ हजार ६६ रूपैयाँ चालूतर्फको बजेट रहेकोमा हालसम्म ३ अर्ब ८६ करोड २२ लाख २६ हजार ४०९ रूपैयाँ खर्च भएको हो ।
पूँजीगततर्फ ४१ अर्ब ६२ करोड ९७ लाख ४१ हजार ९३४ रूपैयाँ रहेकोमा हालसम्म ६ दशमलव ३७ प्रतिशत अर्थात २ अर्ब ६५ करोड ३८ लाख ७७ हजार ३५३ रूपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको लेखा अधिकृत होमनाथ रिजालले जानकारी दिए ।
रिजालका अनुसार प्रदेश सरकारले पहिलो चौमासिकमा सबैभन्दा बढी वित्तीय खर्च गरेको छ । वित्तीय बजेटतर्फ २ अर्ब बजेट विनियोजन गरेको सरकारले हालसम्म ३० प्रतिशत अर्थात ६० करोड रूपैयाँ खर्च गरेको रिजालले बताए ।
रिजालका अनुसार सरकारले गत वर्षको यही अवधिको तुलनामा यो आवमा बजेट खर्च बढाएको छ । गत आव ०७८/७९ मा को पहिलो चौमासिकमा प्रदेश सरकारले चालूतर्फ १० दशमलव ०५ प्रतिशत, पूँजीगततर्फ ४ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ २० प्रतिशत मात्रै खर्च भएको थियो ।