२०८१ बैशाख ११, मंगलबार    

उपमहानगरभित्र सुविधा सम्पन्न प्रसुति अस्पताल स्थापनाको तयारीमा

२०७९ श्रावण १८, बुधबार १२:३९ बजे

हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सुविधा सम्पन्न प्रसुति अस्पताल स्थापनाको तयारी अगाडि बढाएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा होमिँदा घोषणापत्रमै महिलाहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिँदै प्रसुति अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएकी मेयर मिनाकुमारी लामाले अस्पताल खोल्ने तयारीलाई तीव्र पारेकी हुन् ।

निर्वाचनमा नगरबासीसँग गरेको वाचा पूरा गर्ने अभियानमा द्रूत गतिले अगाडि बढेकी लामाले अब निकट भविष्यमै प्रसुति अस्पताल सञ्चालनको तयारी गरेकी हुन् । लामाले प्रसुति अस्पताल सञ्चालनको लागि हेटौंडा अस्पतालका पदाधिकारी, चिकित्सकसहित अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेकी छन् ।


प्रसुति अस्पताल उपमहानगरकै खर्चमा सञ्चालन गरिने भएको छ । उद्देश्यअनुरुप प्रसुति अस्पताल सञ्चालन भए उपमहानगरले दुई प्रकारका फाइदा लिन सक्नेछ । एक, महिलाहरुको विशेष स्वास्थ्य उपचारमा उपमहानगरको चासोले महिलाहरुमा पर्ने सकारात्मक प्रभाव र उपमहानगरको आन्तरिक आयमा बृद्धि । उपमहानगरले दुई उपायबाट प्रसुति अस्पताल सञ्चालनको तयारी अगाडि बढाएको कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।उपमहानगरले आफ्नै खर्च र व्यवस्थापनमा अस्पताल सञ्चालनको रोडम्यापबारे अध्ययन गरिरहेको छ । यता, हेटौंडा अस्पतालको व्यवस्थापन र उपमहानगरको खर्चमा पनि अस्पताल सञ्चालनबारे छलफल भइरहेको चौलागाईंले जानकारी दिए ।

हेटौंडा–१०, स्थित टिसिएनको जग्गामा अस्पताल निर्माण गर्ने गरी कार्य अगाडि बढेको उनले बताए । तर, हालसम्म अस्पतालका लागि जग्गा प्राप्ति भने भइसकेको छैन । अस्पतालका लागि १७ नम्बर वडास्थित हटिया क्षेत्रमा जग्गा उपलब्ध हुने भएपनि बजार क्षेत्रबाट टाढा हुने भएकाले मुख्य बजारभित्रै जग्गाको खोजी भइरहेको छ । ‘टिसिएनको जग्गामा अस्पताल बनाउने कुरा छ । जग्गा प्राप्तिका लागि मेयर, उपमेयरहरु लागिरहनु भएको छ’, चौलागाईंले बताए। तत्काललाई प्रसुति अस्पताल हेटौंडा अस्पतालकै पुरानो भवनबाट सञ्चालन गर्न सकिने बारेपनि छलफल भएको छलफलमा सहभागी एक सदस्य प्रताप विष्टले जानकारी दिए ।

उनका अनुसार हेटौंडा अस्पताल केही दिनमै नयाँ भवनबाट सेवा प्रदान गर्ने तयारीमा रहेकाले हाल सञ्चालन भइरहेको पुरानो भवनमा प्रसुति अस्पताल सञ्चालन बारे छलफल भएको हो ।हेटौंडा अस्पतालले प्रसुति अस्पतालका लागि भवन उपलब्ध गराउनेबारे प्रतिबद्धता भने जनाइ नसकेको जनस्वास्थ्य निरीक्षक चौलागाई बताउँछन् । प्रसुति अस्पतालमा ४० बेडको र ५ बेडको एनआईसीयू रहने जनाइएको छ । हेटौंडा अस्पतालको व्यवस्थापनमा सञ्चालन गरे चिकित्सकदेखि कार्यालय सहयोगीसम्म गरेर थप २० देखि ३० जना जनशक्ति आवश्यक पर्ने देखिएको चौलागाईले जानकारी दिए ।

उपमहानगरकै व्यवस्थापनमा प्रसुति अस्पताल सञ्चालन गरेको खण्डमा ५० देखि ६० जना जनशक्ति आवश्यक पर्ने उनी बताउँछन् । मुख्यतः प्रसुति अस्पतालका लागि स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, अल्ट्रासाउण्ड चिकित्सक, शल्यक्रियाका लागि बेहोस पार्ने चिकित्सक, शल्यक्रियामा सहभागी डाक्टरहरुका लागि सहयोगी आवश्यक रहेको चौलागाईले बताए ।हेटौंडा अस्पतालले हप्ता दिनभित्र प्रसुति अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र भवनको बारेमा प्रतिवेदन दिने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए । ‘हेटौंडा अस्पतालले हप्ता दिनभित्र एउटा प्रतिवेदन दिने कुरा छ । त्यसपछि विस्तृत छलफल हुन्छ’ उनले भने ।

हेटौंडामा प्रसुति सम्बन्धि उपचार हुने विशेष अस्पताल प्रमुख आवश्यकताका रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए । हाल हेटौंडा अस्पतालमा तराईका सर्लाहीदेखि बारा, पर्सा, रौतहटका महिलाहरु गर्भवती अवस्थामा उपचार गराउन आउने गरेका छन् । हेटौंडा अस्पतालले जटिल प्रकारका प्रसुति उपचारका लागि अहिलेपनि चितवन वा काठमाडौंका अस्पतालमा रिफर गर्ने गरेको छ ।एउटा महिलाले बच्चा जन्माउनुअघि, जन्माउँदै गर्दा र जन्माइसकेपछि गरिने मेडिकल तथा सर्जिकल उपचारसँग सम्बन्धित चिकित्सकीय सेवालाई प्रसुति सम्बन्धी उपचार भनिन्छ । प्रसुति उपचारले महिलाको मातृत्वको समयमा समग्र स्वास्थ्य अवस्थालाई कायम गर्न र उपचार गर्न केन्द्रित हुन्छ । स्त्रीरोग चिकित्सकीय क्षेत्रको त्यस्तो हाँगा हो, जसले महिलाको शरीर र तिनीहरुको प्रजनन् स्वास्थ्यको ख्याल गर्छ । यसमा महिलाको प्रजनन् अंगहरुको परीक्षण, उपचार र वास्ता गरिएको हुन्छ ।