२०८० चैत्र १६, शुक्रबार    

रवि लामिछानेले मन्त्रीलाई साँढे भनेपछि.....

२०७९ श्रावण २७, शुक्रबार १७:१५ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक चलाउने नेताले स्वाभिमान बेचेका कारण आफूहरु राजनीतिमा आएको स्पष्ट पारेका छन् ।

उनले शुक्रबार हेटौंडामा वाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुलुक चलाउन भिजन भन्दा मुटु चाहिने दावी गरे । मुलुक चलाउन कुनै वादको जरुरी नहुने उल्लेख गर्दै लामिछानेले नेपालको विकासमा पर्यटनको विकास गर्नुपर्ने औंल्याए । अहिलेका राजनीतिकर्मीहरु दुतावासको एकछाक खाना र रक्सिमा बिकेका कारण आफू राजनीतिमा आउन बाध्य भएको लामिछानेको भनाइ थियो । उद्योग, कलकारखाना नेताका कमिसन, कार्यकर्ता भर्तीका कारण बन्द हुन पुगेको भन्दै हेटौंडा सिमेन्ट उद्योग सधैं घाटामा जाने तर, नजिककैका निजी उद्योग भने नाफामा जानुको कारण के भन्दै प्रश्न गर्नुभएका लामिछानेले निजी उद्योगको नाम भने उच्चारण गर्न चाहेनन् ।

प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद्लाई लक्षित गर्दै १८ जना साँढे किन चाहियो ? भनी प्रश्न गरेका लामिछानेले पछि आफ्नो भनाइ सच्याउँदै साँढे शव्द फिर्ता लिनु लिए । जनताले सही नेतृत्व चयन गर्न सकियो भने अहिलेको समस्या समाधान गर्न सकिने उल्लेख गर्दै लामिछानेले भने,‘ त्यसका लागि हामी सरकारमा जानुपर्छ ।’ प्रहरीको अपराध अनुसन्धान गर्ने शाखा पनि सिसि क्यामेराको निगरानीमा हुनुपर्ने लामिछानेको माग छ ।

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुादै लामिछानेले नेपालमा प्रदेशको संरचना आवश्यक नै नभएको दावी समेत गरे । नेपालका कतिपय राजकीय पदको औचित्य नै नभएको बताए । प्रदेशस्तरीय भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिले मेरो कल्पनाको देश भन्ने आशयमा अभिव्यक्ति दिएका थिए ।