२०८१ बैशाख १५, शनिबार    

‘जनता गठबन्धनको पक्षमा देखिएको छ’

२०७९ बैशाख २७, मंगलबार १०:०७ बजे

राजेश बानियाँ, नेपाली कांग्रेसका युवा नेता । उनी हाल सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकामा उपमेयर पदका उम्मेदवार छन्। मतदानको मिति नजिकिँदै गर्दा हेडम्वा न्युजले उनीसँग गरेको कुराकानीको अंश ।

गठबन्धनको तर्फबाट तपाईं उपमेरको उम्मेदवार बन्नुभएको छ । अहिले चुनाबी अभियानमा हुनुहुन्छ, अवस्था कस्तो पाउनुभएको छ ?

अहिले हामी हेटौंडा १ देखि १९ नम्बर वडासम्मको घरदैलोमा छौं । जनता धेरै उत्साहित देखिएको छ । जनताको माग अहिले ३० वर्षदेखि एउटै नेतृत्व रहँदा पनि विकास हुन नसकेको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा छ । चुनावप्रति जनता आकर्षित छन् । घरदैलोमा उत्साहपूर्ण ढंगले जनता गठबन्धनको पक्षमा देखिएको छ ।

गठबन्धनबाट उम्मेदवारी टुंगाउने सवालमा मनोनयन दर्ताको अन्तिम क्षणमा मात्रै उम्मेदवारी तय गरियो, यसले के असर पु¥यायो ?


टिकट केन्द्रीयस्तरबाटै टुंगिने र देशभर केन्द्रबाटै टिकट टुंगाउनुपर्ने भएकाले केही ढिलाई भएकै हो । तर, ढिलो गरेको निर्णय मजबुत निर्णय बनेको छ । यसले खासै समस्या देखिएको छैन । टिकट पाउँदा धेरै कुराहरु आए, नजिकको मान्छे, आफ्नो मान्छे, निकटको मान्छे भन्ने सवालहरु उठे । तर, जनमत भएको वा कम भएको बारे मूल्यांकन गरेरै टिकट दिएको छ । गठबन्धनबाटै टिकट टुंगाउनुपर्ने अवस्थामा पाँच पार्टीको सहमति हुनु र पाँचै पार्टी सहमतमा पुग्नुपर्ने भएकोले धेरै छलफलपछि मात्रै उम्मेदवार तय गरिएको छ ।

टिकट वितरणको सवाललाई लिएर कम मत भएको, जनमत आँकलन नगरिएको नेकपा (एस) लाई मेयर उठाइयो भन्ने सवालमा गठबन्धन भित्रकै दलबीच विवाद देखिन्छ । त्यही विवादका कारण काँग्रेसकै जिल्ला नेताहरु चुनावी फिल्डमा देखिँदैन । अझैसम्म मन नमाझिएकै हो कि ? वा समस्या अझै बाँकी छ ?

गठबन्धन हुँदा धेरै मत भएको पार्टीले मेयरको उम्मेदवार हाम्रो पार्टीको हुनुपर्छ भन्ने स्वभाविक हो । त्यो अनुसार रुलिङ गरिएको पनि थियो । तर, देशभरको स्थानीय तह मिलाउनुपर्ने सवालमा हेटौंडा नेकपा (एस)ले पाएको अवस्थामा मात्रै हेर्नु हुँदैन । देशका अरु स्थानीय तह ठूलै पार्टीले बढी लिएको अवस्था छ । त्यसकारण यो कुरा बुझाउन सकेको अवस्थामा केही हदसम्म समस्या समाधान भइसकेको छ । अहिले नेताहरु गठबन्धन जिताउन पूर्ण रुपमा लाग्नुभएको छ । हामी त पात्र हौं, नेता र नेतृत्वले चुनाव जिताउनुपर्ने भूमिका हुन्छ । त्यसकारणले उहाँहरुको भूमिकामा कमजोरी छैन । धेरै कुराहरु गलत प्रचार भएका छन् । तर, जनता गलत प्रचारको पछि लागेका छैनन् ।

नेपाली काँग्रेसको जनमत जाँच भइसकेको छ । काँग्रेसको मत कति छ, आँकलन गर्न सकिन्छ तर, भर्खर बनेको पार्टी नेकपा (एस)को जनमत र कार्यकर्ता कति छन् भन्ने यकीन हुन सकेको छैन । यो अवस्थामा मेयर र उपमेयर दुवै जित्न कतिको सहज देख्नुहुन्छ ?

अहिलेको अवस्था हेर्दा हामी जितका लागि धेरै सहज देख्छौं । मत जनमत छ, छैन भन्ने सवाल नेतृत्वले उठाएको होइन र हामी उम्मेदवारले पनि भनेका छैनौं । यो प्रतिस्पर्धीले फैलाएको कुरा हो । अहिलेको गठबन्धन संविधान जोगाउन र ओली प्रवृत्ति हटाउन बनेको गठबन्धन हो । त्यसकारण यसमा जतमतको हिसाब गरेर गठबन्धन गरिएको होइन । गठबन्धनमा स्वतः जनमत छ । यसको हिसाबकिताव गर्न जरुरी नै छैन ।

मिनाकुमारी लामाले मेयर र राजेश बानियाँले उपमेयर जित्नुभयो भने हेटौंडामा के कस्ता परिवर्तन हुन्छ ? कस्तो उपलब्धी हाँसिल हुन्छ ?

संविधानले स्थानीय तहलाई बलियो बनाएको छ । अधिकार उपमहानगरपालिकाको कार्यालयमा खुम्चिएको छ । अगाडिका नेतृत्वका कारण संविधानले दिएको अधिकार पनि खुम्चियो । वडाको अधिकारसमेत खुम्चाइएको थियो । हामी निर्वाचित भएपछि सर्वप्रथम साधारण कामको लागि जनता उपमहानगरपालिका पुग्नु पर्दैन । वडालाई दिइएको सबै अधिकार वडामै राखेर अघि बढ्छौं । यसो हुँदा जनताले भोग्ने समस्या आधा कम हुन्छ । हामी निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदको समानान्तर विकास हुनेछ । व्यक्ति कहिले पनि हाबी हुनेछैन । हामी सेवकका रुपमा रहनेछौं । पूर्वाधारको पाटोमा राष्ट्रिय गौरवका योजनाहरु हामी ल्याउँछौं । जनताबाट लिएको राजस्व स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद सबै क्षेत्रमा लगानी गरिन्छ । यी क्षेत्रहरुमा जनताको पहुँच बढाइन्छ ।

प्रतिबद्धता पत्रमा अलि बढी महत्वाकांक्षी विषयहरु समावेश गरिएको देखिन्छ । यो प्रचारका लागि मात्र गरियो भन्ने आरोप छ । सबै योजना कार्यान्वयन हुन्छ ? सम्भावना कति देख्नुभएको छ ?

योजना कार्यान्वयन नहुने सवाल नै छैन । जनतबाट निर्वाचित भइसकेपछि पार्टी, व्यक्ति, जात, धर्मको पक्ष विपक्ष हामीले त्याग्छौं । हामी जनताको लागि काम गर्छौंै र हामीले अघि बढाएका योजना, प्रतिबद्धताहरु केही फेरबदल हुन सक्लान् तर यो प्रचारबाजी गर्न अघि बढाएको होइन । यहाँ म शासक हुँ भन्ने प्रबृति थियो । त्यसलाई हटाएर म जनताको सेवक हुँ भन्ने अवस्था सिर्जना हुनेछ ।

गठबन्धनको कारणले गर्दा मतदाताहरु मतदान गर्न अन्यौल हुने अवस्था बन्छ, किन ?

२०७४ मा नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला मत बदरकै कारणले गर्दा मेयर उपमेयर दुवै गुमाएकै हो । त्यतिबेला अन्तिम अवस्थामा टिकट आएको र जनतामा गठबन्धन बुझाउन नसकेको र मत दिने तरिका सिकाउन नसकेको अवस्थामा धेरै मत बदर भयो । उम्मेदवारी नभएको पार्टीको पनि चुनाव चिन्ह भएको कारणले मत दिनेबेला मतदाता झुक्किने गर्दछन् । त्यसकारण हामीले मतदाता शिक्षालाई यो पटक बढी जोड दिएका छौं । त्यसकारणले गर्दा यसपटक मत बदर हुने संख्या निकै कम हुन्छ ।

तपाई गठबन्धनबाट उपमेयरको उम्मेदवार हुँदा तपाईंका प्रतिस्पर्धीहरुलाई कसरी हेर्नु भएको छ ?

निर्वाचन भनेको जनताको माझमा पुगेर लड्ने सामाजिक युद्ध हो । यो निर्वाचनमा प्रतिस्पर्धीलाई सामान्य ठान्नु हुँदैन । अहिलेको प्रतिस्पर्धा बलियो पार्टीसँगको प्रतिस्पर्धा हो । जसमा भिजन कस्तो दिने भन्नेले पनि फरक पार्दछ । प्रतिस्पर्धामा परिणामलाई स्वीकार्नु पर्दछ । हामी अहिलेको प्रतिस्पर्धामा धेरै बलियो छौं । प्रतिस्पर्धी कमजोर छन् । तर, कमजोर छन् भन्दैमा आफ्नो तयारी कमजोर पार्नु हुँदैन ।

मेयरमा मिना कुमारी लामा र उपमेयरमा राजेश बानियाँलाई नै किन भोट दिनुपर्ने ?

हामीलाई मत परिवर्तनको लागि हाल्नुपर्ने हो । मैले पटकपटक भनेको छु, एउटै दलले ३० वर्षसम्म नेतृत्व लिनु भनेको परिवर्तनको खाँचो झल्किनु हो । एउटै अनुहार कहिले सांसद त कहिले मेयरमा उठेका छन् । जनतालाई परिवर्तनको खाँचो छ । नेतृत्वसँगै योजना पनि परिवर्तन हुन जरुरी छ । प्रतिस्पर्धीले बनाएको उम्मेदवारको अनुहार र गठबन्धनको उम्मेदवार हेर्दा नै प्रष्ट हुन्छ कि हाम्रो जीत किन आवश्यक छ ? हामीलाई भोट दिनुपर्ने कारण के हो भने, एक पटक हामीलाई मौका दिनुस्, हामी परिवर्तन र विकासलाई सँगसँगै अघि बढाउने छौं ।

तपाई ५ नम्बर वडाको अध्यक्ष हुँदा धेरै काम गर्नुभयो । सामाजिक काममा क्रियाशिल हुनुभयो । अहिले उपमेयरको उम्मेदवार बन्दा जनताको धेरै अपेक्षा देखिन्छ । ती अपेक्षा पूरा गर्न सकिन्छ ?

जनताका सबै अपेक्षा पूरा गर्न सकिन्छ । किनकी मसँग कुनै स्वार्थ छैन । त्यहाँ पुगेर मेरो मान्छेलाई जागिर लगाउनुपर्ने छैन । सेवा सुविधाको लोभ छैन मलाई । मलाई पदको घमण्ड हुँदैन । त्यसकारणले गर्दा जनताका अपेक्षा पूरा गर्छु भनेरनै उपमेयरको उम्मेदवार बनेको हुँ । म जनतासँग एउटै माग गर्दछु, एकपटक नेतृत्व परिवर्तन गरेर हेरौं । गठबन्धनले गर्न सक्छ, म गर्न सक्छु । असम्भव भन्ने केही छैन । मात्रै आत्मबल र योजना आवश्यक छ । स्वार्थ त्याग्नुपर्छ, त्यसपछि जनताका अपेक्षा पूरा गर्न सकिन्छ ।

हेटौंडाबासीलाई के अनुरोध गर्न चाहनुहुन्छ ?

म हेटौंडाबासीलाई यतिमात्र अनुरोध गर्न चाहन्छु कि, पटकपटक दोहोरिएका नेतृत्वलाई र माथि पुगिसकेकालाई परिवर्तनको साँचो नसुम्पिनुस् । भिजन भएको, परिवर्तन चाहने र हेटौंडाको विकास गर्ने नेतृत्व चुन्नुस् ।