२०८१ जेठ ४, शुक्रबार    

पदमपोखरीबासी भन्छन् : राष्ट्रिय निकुञ्जलाई सेनाको क्याम्प राख्न दिँदैनौं

२०७८ चैत्र ४, शुक्रबार १०:५८ बजे

पर्सा राष्ट्रिय निकुञ्जले हेटौंडा–१३, पदमपोखरीमा सेनाको क्याम्प राख्न खाजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दु:ख दिने नियत राखेकोभन्दै त्यसको विरोध गरेका हुन् । उनीहरुले यसविषयमा वडा, उपमहानगर प्रदेश तथा संघीय प्रतिनिधिलाई समेत जानकारी गराइसकेका छन् ।

‘निकुञ्जले क्याम्प राखेपछि स्थानीयलाई दु:ख दिने काम हुन्छ । यसअघि चकरीमकरी तथा हाँडीखोलामा क्याम्प राखेपछि स्थानीयले धेरै दु:ख पाएका छन् । जसको कारणले गर्दा हामीले विरोध गरेका हौं ।’, स्थानीय बगानसिं थिङले भने । उनले चुरेको डाँडापारी जुन स्थानमा राखेपनि आफूहरुलाई सरोकार नभएको तर, पदमपोखरी क्षेत्रमा कुनै पनि हालतमा राख्न नदिने स्थानीयको तयारी रहेको बताए ।

‘हामीले संघर्ष समिति समेत बनाएर आन्दोलनको कार्यक्रम अगाडि बढाएका छौं । स्थानीय कुनैपनि हालतमा नदिने पक्षमा रहेका छन् । हामीले स्थानीय प्रशासनलाई समेत जानकारी गराइसकेका छौं ।’, उनले भने । त्यसक्षेत्रका बासिन्दा लामो समयदेखि निकुञ्जविरुद्ध आन्दोलनरत् छन् । निकुञ्जले क्याम्प खडा गरेपछि स्थानीयलाई घाँसदाउरा तथा गोठालो जान समेत अवरोध सिर्जना गर्ने भएपनि उनीहरु त्यसको विरुद्धमा लागेका हुन् ।

हेटौंडा–१२, १३ र १४ नम्बर वडाको स्थानीय यस कार्यविरद्ध एकढिक्का भएर आन्दोलनमा जाने तयारीमा रहेका छन् ।