२०८० चैत्र १५, बिहीबार    

एमाले मकवानपुरले तोक्यो उम्मेदवारको मापदण्ड

२०७९ भाद्र १५, बुधबार १७:५२ बजे

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि मापदण्ड तोकेको छ । एमालेको सचिवालयको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनको लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीको बैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आथित्यतामा बसेको बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको अन्तिम सिफारिसको लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानको व्यवस्था रहेको सचिव सिग्देलल बताए । उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन रहेको बताइएको छ ।

बैठकले १ महिलासहित ३ जनाको सिफारिस गर्नसक्ने प्रावधान रहेको छ । बैठकले प्रतिनिधिसभा १ मा अनन्त पौडेल, प्रदेशसभा ‘क’ मा रामचन्द्र राई, ‘ख’ मा गोपाल श्रेष्ठ, प्रतिनिधिसभा २ मा डोरमणि पौडेल, प्रदेशसभा ‘क’ मा नवराज तिमल्सिना, ‘ख’ मा एकराज उप्रेतीलाई सहजकर्ता तोकिएको जनाइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायतका प्रदेश सदस्यहरूको उपस्थिति रहेको थियो ।