२०८१ बैशाख १२, बुधबार    

फागुन दोस्रो साता हेटौंडामा अल नेपाल नोभिस बक्सिङ हुने

२०७९ माघ २३, सोमबार १४:०२ बजे

आगामी फागुनको दोस्रो साता हेटौंडामा अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता–२०७९ सञ्चालन हुने भएको छ ।

वाग्मती प्रदेश खेलकुद परिषद् तथा मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा फागुन १५ गतेदेखि २० गतेसम्म हेटौंडा–४ स्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । नेपाल बक्सिङ संघको तत्वाधानमा हुने प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ८ वटा तौल समूहमा खेल हुनेछ । प्रतियोगितामा करिब ३५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगितामा करिब एकसय ५८ जना महिला तथा पुरुष खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा २१ वर्षमुनिका खेलाडी मात्र सहभागी हुन पाउने प्रतियोगिता संयोजक तथा संघ जिल्ला अध्यक्ष दीपेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अगाडि बढिसकेको छ । ‘प्रदेशबाट हामीलाई प्राप्त बजेट अपुग भएको खण्डमा स्थानीय प्रायोजकमार्फत् खर्च जुटाउने छौं ।’, उनले भने ।

प्रतियोगितामा प्रत्येक तौल समूहका विजेता, उपविजेता तथा सेमिफाइनलमा पराजित हुने दुईजनालाई क्रमशः १०, ५ र ३ हजार रुपैयाँ नगदको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई बक्सिङ ग्लोब्स र ५ हजार रुपैयाँ नगदको व्यवस्था गरिएको छ ।