२०८१ बैशाख १५, शनिबार    

मकवानपुरमा देखिएन चुनाव रौनकता

२०७९ आश्विन २४, सोमबार १६:४७ बजे

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा जस्तो रौनकता भने उम्मेदवारी दर्ताको समयमा देखिएन ।

टिकट वितरणमा भएको ढिलाई, दलभित्रको आन्तरिक झगडा र निर्वाचन आचारसंहिताका कारण उम्मेदवारी दर्तामा कार्यकर्ता तथा आमजनतामा उत्साह नदेखिएको हो । निर्वाचन आचारसंहिताका कारण दलहरुले असाध्यै सानो घेराभित्र रहेर उम्मेदवारी दर्ता गर्न गएका थिए । मकवानपु जिल्लाका राजनीतिक दलहरुले आफ्नो पार्टी कार्यालयबाट सानो र्‍यालीसहित हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

टिकट वितरणमा भएको विवादका कारण ठूला दलका उम्मेदवारहरु ‘सुटुक्क’ उम्मेदवारी दर्ता गरेका थिए । एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर–१ बा प्रतिनिधिसभा सदस्याको उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा एक्लै उममेदवारी दर्ता गर्न पुगेका थिए । यसै निर्वाचन क्षेत्रबाट सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ पनि एक्लै उम्मेदवारी दिन पुगेकी थिइन् । यस क्षेत्रमा राप्रपाबाट दीपकबहादुर सिंह सीमित कार्यकर्तासहित उम्मेदवारी दर्ता गरेका थिए । उनी स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरमा मेयरको उम्मेदवार थिए । यस क्षेत्रमा १६ जनाले प्रतिनिधिसभाका उम्मेदवार भएका छन् ।

मकवानपुर प्रतिनिधिसभा १ को ‘क’ मा १५ र प्रतिनिधिसभा १ को ‘ख’ मा १० जना उम्मेदवार भएका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको तर्फबात नेकपा (एकीकृत समाजवादी) बाट पूर्वस्वास्थयमन्त्री विरोध खतिवडा चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता महेश बर्तौला उम्मेदवार बनेका छन् । यस क्षेत्रमा १० जना चुनावी मैदानमा छन् ।