२०८१ जेठ ८, मंगलबार    

दुईदिनमा हराउछन् मकवानपुरमा एक महिला

२०७८ माघ १७, सोमबार १६:२१ बजे

हेटौंडा/ मकवानपुर जिल्लामा सरदर २ दिनमा एक महिला हराउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ सय ७४ जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८७ जना महिला सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर दुई दिनमा एकजना महिला हराइरहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको देखिन्छ ।
‘सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, इन्टरनेटमा आधारित खेलको कुलत र वैदेशिक रोजगारीका कारण परिवारमा झैझगडाहुँदा महिलाहरु सम्पर्कविहीन हुने गरेका छन् ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख चुडाकुमारी खड्काका अनुसार बालकभन्दा बालिका बढी हराउने गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २८ जना बालक हराएका थिए भने ७५ जना बालिका हराएको उजुरी प्राप्त भएको उनले बताइन् । यसवर्ष १२ बालक हराउँदा त्यसको तीन गुणा बालिका हराएका छन् । उनका अनुसार हालसम्म ३६ जना बालिका हराइसकेका छन् ।
अघिल्लो वर्ष ९ जना ज्येष्ठ नागरिक हराएका थिए भने यसवर्ष ७ जना हराइसकेका छन् । हराएको सातैजना ज्येष्ठ नागरिकलाई फेला पारेर प्रहरीले आफ्न्तको जिम्मा लगाएको उनले बताइन् ।