२०८० चैत्र १६, शुक्रबार    

‘सफा हेटौंडा अभियान’को सुरुवात

२०७९ श्रावण ८, आईतबार १२:४३ बजे

हरित नगरीका रुपमा परिचित हेटौंडालाई सुन्दर तथा सफा बनाउन उपमहानगरको ‘सफा हेटौंडा अभियान’ शनिवारदेखि सुरुवात भएको छ । हेटौंडाकी मेयर मिनाकुमारी लामाले शनिवार बिहान एक कार्यक्रमबीच अभियानको हुप्रचौरमा सरसफाई गर्दै सुरुवात गरेकी छन् । लामाले जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउने लक्ष्य अनुसार अभियान अघि बढाएकी हुन् ।सरसफाइमा जनसहभागिता वृद्धि गर्ने र जनतालाई नै अपनत्व गराउने उद्देश्य अनुरुप मेयर लामाले केही दिनअघि ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेकी थिइन् । शनिवार सरसफाईमा वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल घिमिरे, उपमहानगरपालिकाका कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, वडा नम्बर ४ का वडा सदस्य, स्थानीयवासी, हेटौंडाका सचेत युवाहरुको समूह, खेलाडीहरुले सहयोग गरेका थिए ।

मेयर लामाले अभियानमा सहभागि हुन नगरवासीलाई आग्रह गरेकी छन् । उनले पर्यावरण जोगाउन र प्रदूषणको न्यूनीकरणका लागि आवश्यक योजनाहरु कार्यान्वयन गरिने बताएकी छन् । अभियानअन्तर्गत् हरेक हप्ताको शनिवार नगरका विभिन्न वडाहरुमा सरसफाई अभियानलाई संचालन हुनेछ । जसअनुसार शनिवार ३ नम्बर वडामा युवाहरुले वडा कार्यालय परिसरको सररसफाई गरेका थिए । अभियानलाई टोल विकास समन्वय समितिसँगको सहकार्यमा अघि बढाउने योजना उपमहानगरको छ । सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय गरिएको छ ।

उपमहानगरपालिकाले नगरलाई सफा राख्न विगतका वर्षदेखि नै समुदाय निजी साझेदारीको अवधारणामा फोहोर व्यवस्थापनको काम गरिरहेको छ । हेटौंडा यसअघि संघीय सरकारबाट सफा सहरका रुपमा पुरस्कृत भइसकेको छ ।उपमाहनगरपालिकाको नेतृत्वमा समुदाय निजी साझेदारी अनुसार वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले सरसफाइको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात पार्न सफल भएको जनाइन्छ ।फोहोर व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले ठूलो खर्च व्यहोर्नु परेको छैन् । अन्यत्र जस्तो हेटौंडामा फोहोर व्यवस्थापनमा वार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छैन । फोहोर व्यवस्थापनका लागि स्थानीय तह, समुदाय र नीजि क्षेत्रको साझेदारीमा काम गरिँदै आएको छ ।

उपमहानगरपालिकाले यसअघि फोहोरको स्रोत विभाजन गरेर जैविक र अजैविक गरी दुई छुट्टाछुट्टै स्थानमा संकलन गरी व्यवस्थापन गरेको थियो । तर,  कोरोना संक्रमणपछि फोहोरको स्रोत विभाजन रोकिएको छ । फोहोरको वर्गिकरण रोकिएपछि एकमुष्ट रुपमा फोहोर संकलन भने भइरहेको छ ।उपमहानगगरपालिकाले पुनः स्रोतमा नै फोहोर वर्गीकरण गर्ने तयारी गरिरहेको विपद् प्रतिकार्य, फोहोर मैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख शान्ति विकले बताएकी छन् । वर्गीकरण गरिएको जैविक फोहोरबाट कम्पोष्ट मल बनाइने गरिएको छ ।उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा बजेट नछुट्याए पनि स्थानीयबाट मासिक न्यूनतम शुल्क उठाएर गरिरहेको छ । नकुहिने फोहर ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिले घरघरमा नै पुगेर संकलन गर्छ । कुहिने फोहोरबाट स्थानीयले जैविक मल तयार गर्ने गरेका छन् ।

फोहर व्यवस्थापनका लागि हेटौंडा–१० स्थित राप्ती खोलाको कटान क्षेत्रमा ल्याण्डफिल साइट निर्माण गरिएको छ । उपमहानगरपालिका क्षेत्रबाट निस्किएका जैविक फोहोरलाई ग्रिन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिले हेटौंडा–१० मा रहेको कम्पोस्ट प्लान्टमा लगेर मल बनाउने गरेको छ । उक्त मल बिक्रि गरेर कम्पनीले आर्थिक आम्दानीसमेत गरिरहेको छ । फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाले ७० जना र कम्पनीले ४० जना कर्मचारी परिचालन गरेर काम गरिरहेको छ ।