२०८१ भाद्र ३०, आईतबार    

ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव

२०७८ माघ १०, सोमबार १६:५९ बजे

हेटौंडा/ ऐतिहासिक किल्ला मकवानपुरगढीलाई ‘गढी सर्किट’को रुपमा विकास गर्ने योजना सरोकारवाला पक्षले अगाडि सारेका छन् ।

सोमवार मकवानपुरगढीमा २५९ औं विजयोत्सव समारोहमा आयोजना गर्दै गढीको इतिहासको संरक्षण गर्न जरुरी रहेको औंल्याइएको छ । ‘देशको एकीकरण र ग्रेटर नेपाल निर्माणमा गढीहरुको भूमिका उल्लेख्य छ । त्यसकारण यसको संरक्षण जरुरी छ । हामी मकवानपुर गढीको इतिहास र गरिमालाई जोगाउन चाहान्छौं ।’, गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले मकवानपुर गढीको चरणवद्ध विकासका लागि डीपीआर तयार पारिएको वताए ।

उनले मकवानपुरगढीलाई ‘गढी सर्किट’को रुपमा विकास गर्ने योजना रहेको बताए । ‘देशको मध्यविन्दुमा रहेको र सवैभन्दा ठूलो गढी भएका कारण एकपटक यसको अवलोकन गर्नैपर्छ भन्ने गरी हामी काम गर्नेछौं ।’, उनले भने ।

विजयोत्सवको सन्दर्भ पारेर गढी र नेपाली सेनाको सम्बन्ध अङ्कित शिलापत्र तथा दरबार परिसरमा झन्डोत्तोलन समेत गरिएको छ । विजयोत्सव मूल समारोह समितिको आयोजनामा आयोजित कार्यक्रम प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल प्रमुख आतिथ्यता रहेको थियो । ‘गढीको विकासका लागि आवश्यक सहयोग र पहल गर्नेछु ।’, दाहालले भने । नेपाली सेना २८ नम्बर गणका प्रमुख सेनानी सानुभाइ थापा तथा विजयोत्सवमा सहभागीहरुले शिलापत्रको संयुक्त अनावरण गरेका थिए ।

झन्डोत्तोलन तथा शिलापत्र उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष हुमागाईं, उपाध्यक्ष हर्कमाया रुम्बा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य मनकुमारी नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, गढी गाउँपालिकाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
हरेक वर्ष माघ १० गते विजयोत्सव मनाउने गरिएको छ । साढे दुईसय वर्षअघि यही स्थानबाट अंग्रेजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करिव १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सवैभन्दा ठूलो गढीको रुपमा चिनिन्छ । विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा गढी निर्माण भएको इतिहासमा उल्लेख छ ।