२०८१ बैशाख १७, सोमबार    

यसरी पक्राउ परे हेटौंडाबाट तीनजना नक्कली नोट कारोबारी

२०८० भाद्र १५, शुक्रबार १९:५० बजे

हेटौंडामा नक्कली नोटको कारोबारी पक्राउ परेको छ । मकवानपुर प्रहरीले लामो प्रयासपश्चात् नक्कली नेपाली रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीले विहीबार राति बारा र मकवानपुरको सीमा हेटौंडा–१५ चुरियामाई मन्दिर नजिकैबाट ९५ हजार नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले रौतहट कटहरीया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरीया–१ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४० वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले महरा र दासलाई हेटौंडा १५ स्थित चुरियामाई मन्दिर नजिकै हिँडिरहेको अवस्थामा उक्त नक्कली नोटसहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता एवम् टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

चुरियामाईबाट पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्ने क्रममा मकवानपुरको राक्सिराङका विजय तामाङले उक्त नक्कली रुपैयाँ दिएको सूचना दिएपछी प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका महरा, दास र तामाङलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको र उनीहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरु कति समयदेखि यस कारोबारमा संलग्न थिए भन्ने अझै खुलेको छैन ।