२०८१ जेठ ३, बिहीबार    

११ वर्षमा पनि बनेन वाग्मतीमा पुल

२०७८ माघ ३, सोमबार १९:०५ बजे

हेटौंडा/ मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौंडा)अन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने वाग्मती पुल निर्माण सुरु गरेको ११ वर्ष पुगिसक्दा पूर्ण निर्माण हुन सकेको छैन ।

पुलको ९० प्रतिशत काम भर्खरै सकिए पनि अझै १० प्रतिशत कामका लागि ठेकेदार कम्पनी स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले वैशाख मसान्तसम्म समय लिएको छ । धरान–चतरा–हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर पूर्वीक्षेत्र वाग्मती गाउँपालिका–४ फापरबारी र सिन्धुली हरिहरपुरगढी गाउापालिका–३ जोड्न निर्माण गरिएको पुल सबैभन्दा ठूलो, लामो र बढी लागतको बलियो संरचना हो । राजमार्गमा ३४ वटा पुल निर्माण हुनेछन् ।

२९ असार २०६८ मा पाँच वर्षमा निर्माण सक्ने गरी ठेक्का दिइएको पुल हालसम्म १८ करोड ५१ लाख रुपैयाँ खर्चिंदा पनि पूर्ण निर्माण हुन नसकेको हो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको पुल निर्माणपछि मकवानपुर–सिन्धुली सिधा जोडिनेछ अन्तिम छैठौं पटकको म्याद २०७८ चैत ३० गते सकिनेछ । पछिल्लोपटक २०७८ साल असारसम्म म्याद थपिएको थियो । कोरोना महामारीका कारण समयमै काम हुन नसकेको भन्दै निर्माण कम्पनीले २०७८ चैतसम्म समय मागेको थियो । तर, अहिले निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले २०७९ वैशाख मसान्तभित्र पुल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । उनले पुलमा कालोपत्रे, रंगरोगन र केही प्राविधिक काम बाँकी रहेको भन्दै वैशाखमा मात्र पुल हस्तान्तरण गर्न सकिने मदन भण्डारी राजमार्ग आयोजनालाई जानकारी गराएका छन् ।

१० वर्षअघि सरकारले लागत अनुमान गरेको मूल्यभन्दा ४३ प्रतिशत कम मूल्यांकनमा ठेक्का सम्झौता गरेको थियो ।सरकारले ४२ करोड ८ लाख गरे पनि निर्माण कम्पनीले त्यसवेला ४३ प्रतिशत कम मूल्यांकन अर्थात २३ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले ९० प्रतिशत काम सकिएको अवस्थामा १८ करोड ५१ लाख रुपैयाँ खर्चिएको आयोजनाका इञ्जिनियर निराजन थापाले बताए । उनका अनुसार कामको तीव्रता र प्रगति कमजोर भएपछि आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेस्कीबापतको एक वर्षअघि २ करोड ६१ लाख रुपैयाँ फिर्ता लिएको थियो ।