२०८१ बैशाख २८, शुक्रबार    

३ वर्षकी छोरी हुर्काउँदै १५ वर्षीया गंगामाया

२०७८ माघ १३, बिहीबार १०:०१ बजे

हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिका–३ की गंगामाया प्रजा १५ वर्षकी भइन् ।

आँखाभरी केही गरौं भन्ने सपना र मनमा चाहना भएपनि उनी अहिले केही गर्न सक्ने अवस्थामा छैनन् । कारण, उनको काखकी छोरी । उनको हरेक दिन आफ्नो बच्चा हुर्काउँदैमा वितिरहेको छ । उनका दौतरी साथीहरू बिहानबेलुका खेल्न निस्किन्छन् । दिउँसो हातमा कपीकलम बोकेर स्कुलतिर धाउँछन् । अझै पनि कति साथी लाडिएर बाआमाको काखमा लुटुपुटु पर्छन् । कपीकलम समाउने उनको कलिला हातहरूमा अर्को एक जोडी कलिला हातको भार थपिएको छ । साथीहरू झोला बोकेर स्कुल जाने उकालो चढ्दा उनी घाँसदाउरा काट्न हासिया बोकेर रूख चढ्छिन् ।

१२ वर्षको कलिलो उमेरमै आमा बनेकी उनकी छोरी अहिले ३ वर्षकी भइन् । आफू बच्चै हुँदा बच्चा जन्माएकी उनको दैनिकी छोरीको हेरचाह र घरको कामकाज गरेर बित्छ । सहरतिरको जस्तो मोबाइल फोन हातमा बोकेको पनि होइन । न त चिठीपत्र लेखेर लामो समय प्रेम सम्बन्ध नै बसेको हो । तैपनि एकै छिनको भेटले उनलाई विवाहसम्मको बाटोमा पुर्‍यायो । जसले उनको जीवनलाई एउटा अर्कै मोडमा पुर्‍याइदियो ।

करिब ४ वर्षअघि मामाघर जाँदा उनले आफ्ना श्रीमान्लाई पहिलोपटक देखेकी थिइन् । मामाघरको छिमेकी रहेका उनका हुनेवाला श्रीमान्सँग पहिलो भेटमा आँखा जुधे पनि बोलचाल भएन । पहिलो भेटमा बोलचाल नै नगरेका उनीहरू दोस्रो भेटमा विवाह बन्धनमा बाँधिएका थिए । गंगाका अनुसार उनी आफ्नो भदैलाई लिएर व्रतबन्धमा जाँदा उनीहरूले एकअर्कालाई मन पराए र सँगै बस्ने निर्णय गरे ।

कक्षा–४ मा पढ्दै गर्दा उनले १८ वर्षको किशोरसँग विवाह गरेकी थिइन् । राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्दै गर्दा विवाह गरेकी उनको त्यसपछि स्कुलसँगको नाता टुट्यो । उनलाई आफूले सानै उमेरमा विवाह गरेर सन्तान जन्माएकोमा पछुतो मात्रै होइन लाज पनि लाग्छ । घर, परिवार, विवाह, जिम्मेवारी र मातृत्व नबुझ्दै उनले ती सबै कुरा भोगिसकेकी छन् ।
१२ वर्षमै बिहे गरेकी गंगामायाको पहिलो विवाह थियो भने उनका श्रीमान्को दोस्रो विवाह । गंगालाई १८ वर्षमा बिहे गर्दा उनका श्रीमान्ले यसअघि अर्की किशोरी पनि भित्र्याइसकेका थिए । उनका अनुसार उनका श्रीमान्ले पनि पहिलो बिहे ११ वर्षको उमेरमा गरेका थिए । जेठी श्रीमतीले छोडेर गएपछि उनले गंगामायालाई भित्र्याएका थिए ।

मकवानपुरको विकट गाउँपालिकाको गरिब र पिछडिएको समुदायकी उनी गर्भवती भएको समाचारले उनको परिवारको मात्रै होइन, सिंगो देशकै ध्यान तानेको थियो । यो घटना २०७५ सालको मंसिरको थियो । १२ वर्षमा गंगामाया गर्भवती भएको समाचारले देशैभरी चर्चा पाएको थियो । सानै उमेरमा गर्भवती भएकी उनलाई सुत्केरी हुन समस्या भएपछि कवानपुरको राक्सिराङदेखि काठमाडौंसम्म नेपाल सरकारले लग्यो । थापाथली स्थित प्रसूतिगृहमा एक महिना बसेपछि उनले छोरीलाई जन्म दिएकी थिइन् ।

करिब ३ महिना उनी अस्पतालमा नै बस्नुपर्‍यो। कलिलै उमेरमा नजानेर बिहे गरेर आमा बनेकी उनले गर्भवती र सुत्केरी हुादा प्रसव पीडा मात्रै होइन परिवार र समाजबाट अपहेलित पनि हुनुपर्‍यो ।

उमेर नपुगी हतारिएर बिहे गरेको भन्दै गाउँलेले अनेक लाञ्छना लगाएको उनलाई अझै सम्झना छ । सानै उमेरमा बिहे गरे पनि घरपरिवार र श्रीमानसाग सुमधुर सम्बन्ध रहेको उनले बताइन् । उनका श्रीमान् गाउामै मिल चलाउाछन् । बिहान बेलुका घरमा खाना पकाउने र घाँसदाउरा गर्ने काम सकेर उनी पनि श्रीमानलाई सघाउन मिलतिरै लाग्छिन् । अझै पनि गाउामा सानै उमेरमा बिहे गर्नेहरूको संख्या धेरै रहेको भन्दै उनी आफूले जस्तो नगर्न अरूलाई सुझाव दिन्छिन् ।