२०८१ बैशाख १६, आईतबार    

थाहा नगरपालिकामा हिलेजात्रा

२०८० भाद्र १८, सोमबार ०६:३९ बजे

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा हिलेजात्रा शनिबार मनाइएको छ । थाहा नगरको पालुङ घट्टेचौरमा शंखासुर राक्षसलाई हिलोमा गाडेर बध गरेको खुशीयालीमा हिलेजात्रा मनाउने परम्परा छ । 

थाहा नगरको मध्यभागमा पर्ने जनकल्याण उच्च माविको प्रांगण भित्रको डबलीमा स्थानीय नेवार समुदायले पूजाआज गरेर हिलेजात्रा मनाएका थिए । किंबदन्तीअनुसार देवता र राक्षसहरुबीच लडाइँ गर्दा हिलोमा गाडेर राक्षसहरुलाई बध गरेको खुशीयालीमा यस क्षेत्रका नेवार समुदायले बर्सेनि हिलेजात्रा मनाउँदै आएका छन् ।

धर्म र संस्कृतिसम्बन्धी अध्ययन गर्दै आएका पूर्वशिक्षक रामचन्द्र फुर्सदीका अनुसार देवताहरुले राक्षसलाई हिलोमा गाडेर बध गरेको खुशीयालीमा यस क्षेत्रका नेवार समुदायले बर्सेनि गाईजात्राको पर्सिपल्ट हिलेजात्रा मनाउने गर्छन् । अर्कोतिर दामन-पालुङ क्षेत्रमा रोपाइँ सकेको सन्देश दिन पनि हिलेजात्राको आयोजना गरिएको स्थानीयवासीहरुको भनाइ छ ।

करिब ५ सय वर्षअघिदेखि नै दामन पालुङका नेवारी समुदायले हिलेजात्रा मनाउँदै आएका छन् । जात्रामा खेतमा रोपाइँ गरेको कला प्रदर्शन गरिएको थियो भने लाखे नाच, र इन्द्रायणी, कालाभैरव, गणेश, सरस्वतीगायतका देवताहरु जस्तै सिँगारिएर नृत्य प्रस्तुत गरिएको थियो ।

जात्रामा गोपाली, देउला, ओखरगाउँ र पालुङ बस्तीका नेवार समुदायले लाखे नाच, रोपाइँ र देवताको नाँच प्रस्तुत गरेका थिए । जात्रा अवलोकनमा थाहा नपाबाहेक टिस्टुङ, आग्रा, गोगने र नामटारका बासिन्दाहरु आउने गर्छन् ।