२०८१ बैशाख १२, बुधबार    

कांग्रेसको चुनावलक्षित अभियान भदौ १० देखि

२०७९ श्रावण २८, शनिबार १६:५३ बजे

सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए ।

‘यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो, त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको हो ।

‘कानुनमै पार्टीको केन्द्रीय कार्यकारी समितिको निर्णय संलग्न हुनुपर्ने व्यवस्था छ । त्यहीकारण यो बैठकबाटै दल दर्ता गर्ने निर्णय गरिएको हो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘आजको बैठकमा खाली पार्टीभित्रको आन्तरिक व्यवस्थापनको कुरा मात्रै भयो, अरु राजनीतिक विषयमा कुनै छलफल भएन ।’