संसदीय राजनीतिमा चासो राख्नेका लागि विरोध खतिवडा परिचित नाम हो । २०४८, ०५१, ०५६ र ०७४ को निर्वाचनमा विजयी भएका खतिवडा मंसिर ४ गते हुने आमनिर्वाचिनबाट पाँचौं पटक प्रतिनिधिसभा सदस्य हुने दाउमा रहेका छन् । नेकपा एमालेबाट चारपटक विजयी भएका उनलाई यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ ।
मकवानपुर प्रतिनिधिसभा–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका उनी पूर्वमन्त्री स्वास्थ्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य हुन् । एमाले विभाजनपश्चात् नेकपा (एस) रोजेपछि मात्रै खतिवडाले मन्त्री बन्ने अवसर पाएका थिए । पार्टी विभाजनको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको रुपमा परिचित खतिवडा विगतको साख जोगाउन कांग्रेस र माओवादीको भरमा छन् ।
उनी हाल मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । चुनावी अभियान, घरदैलोको क्रममा जनताबाट प्राप्त सुझाव, निर्वाचित हुने आधार तथा आगामी योजनाको विषयमा गरिएको कुराकानी:
चुनावको मिति नजिकिँदै छ । चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
अहिले सत्तारुढ गठबन्धनले संयुक्तरुपमा चुनावी कार्यक्रम तय गरेर हामी अभियानमा हिँडिरहेका छौं । मेरो क्षेत्रमा पर्ने ६२ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरिएको छ । पहिलो चरणका आन्तरिक सभाहरु सकिएका छन् । हामी गठबन्धनतर्फ प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरु एकढिक्का भएर हाल चुनावीसभा र घरदैलोमा व्यस्त रहेका छौं । केही चुनावी प्रतिबद्धता जाहेर गर्ने र जनताको पिरमर्का बुझ्दै दैनिकी बितिरहेका छन् ।
तपाईं पाँचौं पटक एउटै क्षेत्रबाट निर्वाचनमा उम्मेदवार बन्नु भएको छ । यसक्षेत्रमा अझै के गर्न बाँकी रहेको छ र तपाईं उम्मेदवार बन्नुभयो ?
हाम्रो संविधानले आवधिकरुपमा पाँच/पाँच वर्षमा आमनिर्वाचन हुने व्यवस्था गरेको छ । कतिपटक निर्वाचनमा उठ्न पाउने भन्ने कानुनी प्रावधान छैन । त्यसैले म जस्तै कैयौं जना धेरैपटक उम्मेदवार भएका छन् । स्वभावैले मैले जे जति काम गरेको छु । त्यो आधारबाट मलाई पार्टी, यहाँका मतदाता र गठबन्धनले उम्मेदवार बनाएको हो । अन्य जिल्लामा जस्तो यहाँ कांग्रेस र माओवादीबाट कुनै विवाद भएको छैन । अब जनमत र निर्वाचनको हिसाबले पनि मलाई सजिलो हुन्छ भनेर गठबन्धनले उम्मेदवार बनाएको हो ।
जनताको प्रारम्भिक आवश्यकता भनेको स्वास्थ्य, शिक्षा, खानेपानी,सडक, पुललगायत विषय मेरा प्राथमिकतामा रहेका छन् । विशेषगरी मेरो निर्वाचन क्षेत्रमा ३० भन्दा बढी पक्की पुल निर्माण गर्न बाँकी रहेको छ । सडक र स्वास्थ्य संस्थाको स्तरोन्नति गर्न अझै बाँकी रहेको छ । दुर्गम क्षेत्र भएर राजमार्ग निर्माण गर्न अझै बाँकी नै छ । राक्सिराङ र कैलाश गाउँपालिकाको सदरमुकाममा अझैसम्म कालोपत्रे सडक पुगेको छैन । त्यसको निर्माण सम्पन्न गर्नु पनि मेरो दायित्त्व हो ।
मैले गाँजा खेतीलाई मूल मुद्दाको रुपमा उठाइरहेको छु । यसपटक यस विषयलाई टुंग्याउनेछु । यो विषय निष्कर्षमा पुग्ने क्रममा पनि छ । संयुक्त राष्ट्रसंघले गाँजालाई लागूऔषधबाट हटाएको छ । पहिला अफिम र चरेससँगै लागूऔषधको रुपमा राखेको थियो । अब गाँजालाई औषधिजन्य बिरुवाको रुपमा परिभाषित भएको छ । अब विधेयक बन्ने क्रममा रहेको छ ।
समग्रमा भन्नुपर्दा निर्वाचन क्षेत्रको जनप्रतिनिधिको नाताले यहाँको केही आवश्यकताहरु पूर्ति गर्दै जान, विधेयक र विधायकको हिसाबले मैले आवश्यक कानुन, नीति निर्माण गर्ने विषयमा केन्द्रित हुन मैले पुनः उम्मेदवारी दिएको हुँ ।
तपाईं लामो समयदेखि संसदीय राजनीतिमा हुनुहुन्छ । पहिले र अहिलेको चुनावी अभियानमा के फरक पाउनुभयो ? मतदाताको मनोविज्ञान होस् वा खर्चको विषयलाई कसरी लिनुहुन्छ ?
पहिला र अहिलेको अवस्थामा सबै विषय फरक भएका छन् । मतदाताको मनोविज्ञान होस् वा प्रचारप्रसार गर्ने शैली सबै परिर्वतन भएका छन् । नेपालमा एक अवधिपश्चात् नयाँ इस्युहरु आउने ट्रेन्ड देखिन्छ । देशमा भएको विभिन्न राजनीतिक परिवर्तनपश्चात् सामान्यतया जनताले एउटा चुनाव हेरेपछि अर्को निर्वाचनमा तत्कालिन शासन पद्धतिमा केही सुधार र परिवर्तन गर्न सकिन्छ कि भन्ने गरेको पाइन्छ ।
हिजोको समयभन्दा अहिलेमा जनताको चेतनास्तर निकै बढेको छ । विज्ञान र प्रविधिको विकासका कारण पनि यस्तो भएको छ । अहिले सूचना सहजै प्राप्त गर्न सक्ने भएका कारण विश्वको घटनाक्रम, व्यवस्था, विकास हेरेर हाम्रो यहाँ किन हुँदैन भनेर जनतामा जागरुकता बढेको छ । यो स्वभाविक र राम्रो कुरा पनि हो ।
पहिलो व्यवस्थाविरुद्ध लडेर आएकाहरु थिए । नेताको त्याग, पार्टीप्रतिको अत्यधिक विश्वास थियो । त्यसै कारण त्यस बेलाको निर्वाचन जनताकै बलमा, जनताकै खर्चमा जनताकै तर्फबाट लड्न सकिन्थ्यो । लडिएको थियो । पछिल्लो समय निर्वाचनहरु खर्चिलो बन्दै गएका छन् । अनि सरकारहरु बन्ने र बिग्रने क्रममा अनेकौं भ्रष्टाचारका काण्डहरु र स्क्यान्डलहरु बहिर आउन थालेका छन् । त्यो कति सत्य, कति असत्य आफ्नो ठाउँमा छ । ओहो यस्तो हुँदो रहेछ भनेर बाहिर जनमानसमा पार्टी र नेता भनेका भ्रष्टाचारी हुने र पैसाबिना काम गर्दैनन् भन्ने छवि बनेको छ । त्यस कारणले गर्दा पनि चुनाव आयो भनेपनि अब नेताले खर्च गर्छ भन्ने मानसिकताको विकास मतदातामा भएको हो ।
पहिलाको चुनाव निष्ठा, त्याग र विश्वाससँग गाँसिएको थियो । अहिलेको चुनावमा खर्च बढाउने मौका यही हो भन्ने प्रवृत्ति बढेको छ । केही नेताले यस प्रवृत्तिलाई प्रोत्साहन पनि गरेका छन् । चुनाव जित्नैपर्छ भन्ने उत्कट आकांक्षाको प्रभावमा यस्तो भएको हो ।
तपाईंको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला रहेका छन् । तपाईंहरुको भिडन्तलाई गुरु–चेलाको भिडन्तको रुपमा समेत चित्रण गरिएको छ । उहाँसँगको प्रतिस्पर्धालाई तपाईंले कसरी लिनुभएको छ ?
मैले सुरुवातमै भनिसकेको छु । हामीले चाहेको पनि यही हो । प्रतिस्पर्धाको राजनीति चाहिन्छ भनेर हामीले दलीय व्यवस्थाको स्थापना गर्न, पञ्चायत व्यवस्था ढाल्न र गणतन्त्र ल्याउन आन्दोलन गरेका हौं । पाँच वर्षमा हुने आमनिर्वाचनमा दल, व्यक्ति वा स्वतन्त्र उम्मेदवार हुन पाउनु उनीहरुको अधिकार हो । यसलाई म स्वागत पनि गर्छु । त्यसकारण को उठ्यो ? बा उठ्यो कि, छोरा उठ्यो कि, भतिजा उठ्यो? भन्ने ठूलो कुरा होइन । कुन पार्टीबाट उठ्यो भन्ने पनि होइन । यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ भन्ने हो । यसै अवसरमा महेश पनि खास एउटा पार्टीबाट उम्मेदवार बनेका छन् । यसलाई मैले अनौठो रुपमा लिएको छैन । अरु दशजना उम्मेदवारलाई जसैगरी हेरेको छु । म आफूलाई पनि दस जना भीडकै एउटा उम्मेदवारको रुपमा हेरिरहेको छु ।
पुरानो पुस्ताको नेतासँग मतदाताहरु रुष्ट रहेको देखिन्छ । अहिले ‘नो नट अगेन’ जस्ता अभियानहरु पनि सञ्चालन भइरहेका छन् । तपाईं पनि धेरै पटक निर्वाचित भइसक्नु भएको छ । घरदैलोको क्रममा तपाईंप्रति क्रेज घट्दो देख्नु हुन्छ कि बढ्दो ?
यसलाई कुन आँखाले हेर्ने भन्ने हो । फूलको आँखामा फूलै संसार र काँडाको आँखामा काँडै संसार भने जस्तो हो । हारोस् भन्नेहरुले सोही अनुसार मूल्यांकन गरिरहेका छन् । विरोधले जितोस् भन्नेले पुरानो, अनुभवी र जनताको काम गर्ने भनेर विश्लेषण गरिरहेका छन् । व्यक्तिगतरुपमा मलाई अघिल्लो पटकको भन्दा चुनाव सहज छ । यसपटक म मत पनि बढी ल्याउँछु भन्ने विश्वास छ । गठबन्धनका कारण पनि यस्तो भएको हो ।
‘नो नट अगेन’ होस् वा ‘भोट अगेन’ यो मान्छेका च्वाइसका कुरा हो । पुरानालाई नदिने हो भने कुन पार्टीले भनेको, कुन उम्मेदवारले भनेको पहिले प्रष्ट हुनुपर्छ । एमालेले भनेको हो भने केपी ओली, ईश्वर पोखरेललाई किन उम्मेदवार बनाएको ? एमालेका लागि केपी ओली युवा हुने विरोध खतिवडा बुढो हुने हुन्छ ? राप्ती खोला पारी युवा चाहिने वारी आएपछि कमल थापा काका भए पनि हुने ? मभन्दा कमल जी ५/६ वर्ष जेठो हुनुहुन्छ । बारम्बार भन्ने हो भने मभन्दा दुईपटक बढी चुनाव उहाँ नै उठ्नु भएको छ । यो चुनावी फन्डा मात्र हो । यसको कुनै अर्थ वा असर छैन ।
स्वतन्त्र उम्मेदवार प्रत्येक चुनावमा थिए । २०४८ सालमा पनि स्वतन्त्रले जितेका थिए । २०५१, २०५६, २०६४ र २०७४ मा पनि स्वतन्त्र सांसद सदनमा थिए । अहिले पनि स्वतन्त्र सांसदमा सदनमा आउन सक्छन् । अहिले स्वतन्त्र भन्ने एकदमै ठूलो हौवाको रुपमा खडा गरिएको छ । हरेक चुनावमा स्वतन्त्र उठेका छन् । स्थानीय पालिकामा पनि जितेका थिए । संसद्मा पनि जितेका थिए । यसपटक चाहिँ चाहिनेभन्दा बढी स्वतन्त्रको चर्चा किन भयोभन्दा नेपालको राजधानी काठमाडौंमा स्वतन्त्रले जितेपछि यस्तो अवस्था सिर्जना भएको हो । जसको कारणले गर्दा दलहरुलाई हराउन सकिन्छ भन्ने मनोबल बढेको छ । संगठित रुपबाट होइन एक्लै जो पनि जित्न सक्छ सेलिब्रिटी भएपछि भन्ने भान परेको छ । सबै स्वतन्त्रहरु एकै स्थानमा संगठित भएर आउन सकेको भए केही न केही राम्रो नतिजा आउन सक्थ्यो । उनीहरु आफैं विभाजित छन् । स्वतन्त्रहरु आफैं हिरो बनिरहेका छन् । स्वतन्त्रको लहर ल्याउनेहरु आफैं विभाजित भएका कारण उनीहरुले भनेअनुसार हुने सम्भावना निकै कम देख्छु ।
तपाईंले चुनाव जित्ने आधार भनेको गठबन्धन नै हो कि अन्य केही छ ?
अहिले हामी गठबन्धनमा छौं । यो झनै ठूलो आधार भयो चुनाव जित्नका लागि । म एक्लै एउटै पार्टीबाट लडेर चारपटक निर्वाचित भएको हुँ । म नेता भएर निर्माण गरेको नेकपा एमालेका आधाभन्दा बढी मतदाता अहिले मेरो पक्षमा छन् । कांग्रेस, माओवादी र गठबन्धनका अन्य दलको मत पनि मलाई आउने भएपछि झनै सहज अवस्था रहेको छ । म पहिलाको भन्दा फराकिलो मतान्तरमा निर्वाचित हुनेमा ढुक्क छु ।
अन्त्यमा, मकवानपुरको सवैभन्दा ठूलो समस्या भनेको स्वास्थ्योपचारको हो । तपाईं स्वास्थ्यमन्त्री हुँदा जिल्लाका लागि कामै गरेन भन्ने आरोप छ नि ?
यो बेकारको कुरा हो । प्रत्येक जिल्लामा वीर वा टिचिङ अस्पताल बनाउन सकिन्न । हाम्रो देश आर्थिक रुपमा बलियो भएपछि प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पताल सरकारले निर्माण पक्कै पनि गर्ला । मैले नीतिगत रुपमा गर्नुपर्ने धेरै कामहरु गरेको छु । जिल्लाको अस्पताल पहिलाको भन्दा धेरै सुधार पनि भएको छ । यहाँका दशवटै स्थानीय तहमा १५ बेडको अस्पताल सञ्चालनमा छन् । थाहा नगरपालिकामा अक्सिजन प्लान्टसहितको अस्पतालमा सञ्चालनमा ल्याउँदै छौं । वडा–वडामा स्वास्थ्यचौकी हामीले खडा गरेका छौं । आवश्यकता अनुसार अझै पनि स्थापना गर्न सकिन्छ ।