२०८१ बैशाख ७, शुक्रबार    

सटर भाडाबारे विवाद हुँदा वडा अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट

२०७९ भाद्र ७, मंगलबार १९:३१ बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ । उनीमाथि मंगलबार दिउँसो हेटौंडा ४ हुप्राचौरस्थित कार्यकक्षमै कुटपिट भएको हो ।

हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सटर भाडामा दिनेबारे विवादहुँदा नेकपा एमाले मकवानपुर सचिवसमेत रहेका सिग्देलमाथि एमाले जिल्ला सदस्य सानुलामा दोङले कुटपिट गरेका हुन् । भुटनदेवीको सटर भाडामा दिनेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ ।

आफु कुटिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि सिग्देलले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सानु लामा दोङले आफुमाथि कुटपिट गरेको भन्दै वडा अध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको बताए ।

‘उजुरी दर्तालगतै प्रहरीले सानु लामा दोङलाई पक्राउ गर्न खोजी गरेको थियो । उहााको मोवाइल अफ छ, घरमा छैनन् । हामीले खोजी गरिरहेका छौं । उहाा हाल फरार छन् ।’ प्रवक्ता कार्कीले भने, ‘उहााहरुको पार्टीगत कुरा रहेछ । आफूमाथि हातपात भएकाले कारबाहीको माग गर्दै वडाध्यक्षले उजुरी दिनुभएको छ । कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं ।’

वडाध्यक्ष सिग्देलले आफुमाथि कुटपिट हुनु गलत भएको बताए । ‘म धेरै कुरा गर्न चाहन्न्, ममाथि कुटपिट भएको छ, मैले उजुरी गरिसकेको छु, कानुनबमोजिम कारबाही हुनुपर्छ ।’ सिग्देलले भने ।