२०८० चैत्र १६, शुक्रबार    

‘नयाँ नोट’ साट्न विहानैबाट सर्वसाधारण लाइनमा

२०७९ आश्विन ११, मंगलबार ०९:४१ बजे

दशैंको लागि नयाँ नोट साट्न हेटौंडामा विहानैबाट सर्वसाधारण लाइनमा बसेका छन् । हेटौंडा–४ स्थित बैंक रोडमा अवस्थित नेपाल बैंक लिमिटेडमा सर्वसाधारणको नयाँ नोट साट्न झिसमिसेबाटै घुईंचो नै लागेको छ ।

बैंकले आजबाट नयाँ नोट साट्ने भएपछि उनीहरु लाइनमा बसेका हुन् । हेटौंडा–११, थानाभर्‍याङ देवप्रसाद तिमल्सिना सुरुमै नयाँ नोट साट्ने भनेर विहानैबाट लाइनमा बसेको बताए । ७० वर्षीया तिमल्सिनाले प्रत्येक वर्ष यसैगरी नयाँ नोट साट्ने गरेको बताए ।

हेटौंडा–१७, हटियाकी २२ वर्षीया सिर्जना थापा विहान ५ बजेबाटै नयाँ नोट साट्न लाइनमा बसेकी छन् । उनी एकसय रुपैयाँ भाडा तिरेर अटोमा नयाँ नोट साट्न बैंकमा आएकी हुन् । ‘चिया पनि नखाइ आएको । म आउँदा त धेरै जना लाइनमा बसिसक्नु भएको रहेछ ।’, उनले नयाँ नोट नभएसम्म चाडपर्व आएको महसुस नहुने बताइन् ।

बैंकहरुले आजबाट नयाँ नोट साट्ने जनाएको छ । गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न पाउने बैंकले जनाएको छ । यो ५ देखि १ सय रुपैयाासम्मको एक–एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई आजबाट नयाँ नोट सटही सुविधा दिने जनाएको छ । विशेष गरी दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग हुने गरेको छ ।