२०८१ बैशाख १६, आईतबार    

विपन्नलाई बाख्रा सहयोग

२०७९ श्रावण १६, सोमबार १४:०१ बजे

मकवानपुर जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिका ९ कि सुन्तली चेपाङ्ग भोकोपेट ८ घण्टाको बाटो धाएर धादिङ जिल्लाको सिमाना आईपुगिन । एउटै खहरे दर्जनौ पटक तरेर, झांगाबाट ढुङ्गा खसेर लाग्ने त्रासै त्रासमा दौडिएकी सुन्तलीको मुहार भने प्रसन्न थियो कारण थियो ५ वटा बाख्रा ।

बाह्र महिना अन्नले पुर्‍याउन धौ धौ हुने उनले उन्नत प्रजातिको ५ वटा बाख्रा अनुदान पाइन् ।  जंगलमा बाख्रा छाडेरै भएपनि उत्पादन लिन सकिनेमा आशावादी छिन उनी । सुन्तली जस्तै खुसी देखिइन इन्द्रकुमारी नगरकोटी । काखे बच्चा च्यापेर बाख्रा लिन आएकी उनीलाई भीर र पहरामा कसरी बचेर फर्कने भन्ने चिन्ता थियो । “एउटा बच्चा च्यापेर आए, अब ५ बाख्रा पनि च्यापेर फर्कनु छ, घरसम्म पुर्‍याउन चिन्ता भए पनि बाख्रा पाएकोमा औधी खुसी छु” उनले भनिन् “बाख्राबाट अब हाम्रो जिविका चल्न सहयोग हुने छ ।”

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङको तारलिङका विपन्न परिवारलाई उन्नत जातको बाख्राको पाठा वितरण गरिएको थियो ।

सयुक्त राष्ट संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला सशक्तीकरण तथा गरिबि निवारण समूह नेपालले यहाँको २० परिवारलाई ५/५ वटाको दरले बाख्रा वितरण गरेको हो । बाख्राबाट आर्थिक उपार्जनमा स्थानीय विपन्न महिलालाई सहयोग पुग्ने समूह अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् । विकट बस्तिमा कष्टकर दैनिकी गुजार्दै आएका स्थानीय चेपाङ, नेवारी तथा तमाङ समूदायमा बाख्रा पालनले जीविकोपार्जन सहज हुने सेवाग्राही सुन्तली चेपाङले बताइन् । “यि बाख्राबाट उत्पादन हुने पाठापाठीमार्फत आर्थिक स्तर बढाउन सकिन्छ भन्ने लागेको छ” उनले भनिन् “हाम्रो लागि एउटा बाख्रा किन्नै धौ धौ छ,संस्थाले ५ वटा दियो,अब आर्थिक रूपमा फड्को मार्न सकिन्छ कि ।”

बाख्रा वितरण कार्यक्रममा कृषि प्राविधिक भिमप्रसाद दाहालले बाख्राको स्वास्थ्यमा हेरचाह गर्दा ध्यान दिनुपर्ने जानकारी बारे स्पष्ट पारेका थिए । “बाख्रा बिरामी भयो भने तपाईंको गाउँमै रहेका स्थानीय प्राविधिकलाई पनि भेट्न सक्नुहुने छ” दाहालले भने “यि बाख्राको स्याहार गर्दै अरू बाख्रा बढाउनु पर्छ,अनि व्यवसायीक बनिन्छ ।”

प्राकृतिक रूपमा उत्पादन हुने फलफुल तथा पाखो बारिमा उत्पादन हुने अन्नलाई निर्वाहमुखि गुजारा चलाउदै आएका यहाँका बिपन्न स्थानीयलाई केहि समय पालेपछि बाख्राबाट राम्रो आयआर्जन हुने गाउंपालिका अध्यक्ष राजकुमार मल्लाले बताए ।  समूहले बितरण गरेको बाख्रालाई खोर गाउँपालिकाले निर्माण गरिदिने उनले बताए ।

बाख्रा वितरण गरिएकाहरूलाई स्थानीय गाउँपालिकाले खोर बनाउन सहयोग गर्नेछ भने पहिलो पटक उत्पादन भएको पाठाहरू  उनीहरूले आफ्नो छिमेकीलाई सहयोग गर्नेछन् । गरिबी उन्मुलन गर्दै महिलाको अवस्थामा सुधार ल्याउन आफूहरूले काम गर्दै आएको अध्यक्ष न्यौपानेले बताइन् । आर्थिक सशक्तीकरणको समूहले विपन्न परिवारलाई फलफूल खेती, कुखुरा पालन तथा बाख्रा पालनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक सचित रिजालले बताए । बाख्रा वितरण कार्यक्रममा समूहका पशु प्राविधिक पवित्रा संजेल, लेखाशाखाका सुजन पौडेलसमेतको उपस्थिति रहेको थियो ।