२०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा गुणस्तरयुक्त खानेकुरा बनाउने तालिम सुरु

२०८० जेठ २, मंगलबार १७:१२ बजे

घरेलु तथा रैथाने उत्पादनको प्रयोग गरी स्वच्छ र गुणस्तरयुक्त खानेकुरा बनाउने तालिम हेटौंडामा सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा स्थानीय उत्पदानबाटै स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम मंगलबारबाट सुरु भएको हो । चार दिनसम्म चल्ने तालिममा हेटौंडाका २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा महिला तथा बालबालिकालाई लक्षित गरी स्वच्छ र पौष्टिक आहार कसरी बनाउने भन्नेबारे सिकाइनेछ । बजारमा तयारी अवस्थामा पाइने खानेकुराले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै घरमै ताजा, स्वच्छ र पोषणयुक्त खानेकुरा बनाउन सकिनेतर्फ गृहिणीहरुलाई अग्रसर गराउने यो तालिमको आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तालिकको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले पौष्टिक आहाराले महिलाहरुलाई स्वस्थ रहन र क्षमता विकासमा टेवा पुग्ने भन्दै त्यसतफए ध्यान दिन आग्रह गरिन् । उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनितिक लगायतका विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको उनले बताइन् । उनले निजी क्षेत्रसँगको समन्वयमा कुपोषण समस्या समाधान गर्न यस्ता प्रशिक्षणहरु प्रदान गर्दै महिला उद्यमशीलता कार्यक्रममा जोड्न लागि परेको जानकारी दिइन् ।

कार्यक्रममा बलियो नेपालका कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले आम नागरिकमा जनचेतना अभिवृद्धिका साथै महिला उद्यमशिलताका प्रशिक्षणहरुले बालबालिकाहरुलाई कुपोषणबाट बचाउन सहयोग पुग्ने समेत बताए । बालबालिकाहरुलाई आमाको दूधको साथै फोर्टिफाइड भिटामिन तथा खनिज थप गरिएको पदार्थ आहार खुवाउन सके कुपोषणबाट बचाउन सकिने बताए ।

कार्यक्रममा माधव राज सुमागी स्मृति कोषकी उपाध्यक्ष अस्मिता सुमार्गीले महिलाहरुलाई सक्षम बनाउन सबैभन्दा पहिला महिलाहरुको स्वस्थ्यमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाहरुलाई उद्यमशीलता बनाउन बैंक तथा बीमा संस्थाबाट ऋण उपलब्ध गराउन संस्थाले भूमिका खेल्ने बताइन् । कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, नार्कका वरिष्ठ वैज्ञानिक डा.रोमन कार्की, सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ती कलावती सुमार्गीलगायतको आतिथ्यता रहेको थियो ।