२०८१ बैशाख ४, मंगलबार    

अल्पमत र बहुमत भन्ने हुँदैन

२०७९ जेठ १७, मंगलबार १६:५९ बजे

वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की नेतृ मीना लामा निर्वाचित भएकी छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचित भएकी लामासँग यसअघि उपमेयर सम्हालिसकेको अनुभव छ ।

नेकपा एमालेबाट उपमेयरमा बनेकी लामाले समाजवादीको तर्फबाट उम्मेदवार बन्दै ३० वर्षदेखि हेटौंडामा एमालेले गरेको एकछत्र राजमा पूर्णविराम लगाइदिएर सर्वत्र चर्चामा छिन् । उनै लामासँग हाम्रो  संवाददाताले गरेको कुराकानी:

हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरमा निर्वाचित हुँदा कस्तो महसुस गरिरहनुभएको छ ?

असाध्यै खुसी लागेको छ । मैले यसलाई गम्भीररुपमा समेत लिएको छु किनभने हाम्रा जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको रहेको छ । मैले महिलाको सँगै समग्र हेटौंडाको प्रतिनिधित्व गर्नुपर्ने गहन जिम्मेवारी प्राप्त गरेको छु । त्यसकारण मैले यसलाई अवसर र चुनौती दुवै ठानेको छु ।

मेयरमा निर्वाचित हुन के-कस्ता अप्ठ्याराहरू सामना गर्नुभयो ?

धेरै विषयहरू छन् । जननिर्वाचित हुन धेरै गाह्रो रहेछ । सबै उम्मेदवार जित्नकै लागि मैदानमा उत्रिएका थिए । सबैले आ-आफ्नो तर्फबाट निर्वाचित हुन अभ्यास पनि गरे । कुन उम्मेदवार के गर्दैछ भन्ने विषयमा कसैलाई पनि थाहा थिएन; हुँदैन पनि रहेछ । मैले सकारात्मक तरिकाबाट अभ्यास गरेका कारण सफलता हात पारेको हुँ भन्ने लाग्छ; यो असाध्यै महत्त्वपूर्ण पनि छ ।

तपाईंका आगामी योजनाहरू के-कस्ता छन् ?

मैले धेरै योजनाहरू बनाएको छु । हेटौंडामा धेरै काम गर्न बाँकी नै छ । हेटौंडा सुन्दर र हरियाली सहर हो । अहिले हेटौंडा प्रदेशको राजधानीसमेत भएको छ । सातै प्रदेशको राजधानी रहेको सहरमध्ये अब्बल सिटीको रुपमा यसलाई विकास गर्नु छ । हामीले विकास निर्माणका धेरै काम गरिरहँदा महिला, बालबालिका, लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्नुपर्ने छ । युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छ; यसका लागि हामी योजनाबद्ध ढंगले काम गर्नेछौं ।

तपाईंसँग पाँच वर्ष उपमेयर सम्हालेको अनुभव पनि छ । आफू उपमेयर हुँदा गर्न नसकेको र अब गर्छु भन्ने सोच्नुभएको कुनै काम छ ?

प्रमुख र उपप्रमुख हुनुमा धेरै फरक पर्छ नै । मैले उपप्रमुख हुँदा पनि काम नगरेको भने होइन । स्थानीय स्वायत्त ऐन २०७४ ले व्यवस्था गरेअनुसार न्यायिक समिति, राजस्व, अनुगमन तथा संघसंस्थासँगका समन्वयका विषयहरू थिए । उपमेयर हुँदा कानुन निर्माण गर्नुपर्ने जिम्मेवारी पनि थियो । मैले उपमेयर हुँदा सम्पूर्ण क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाएको थिएँ । निर्वाचित जनप्रतिनिधिले आ-आफ्नो अधिकार क्षेत्रका काम हामीले गर्नुपर्ने हुन्छ । उपमेयर हुँदा मैले मेयरको अधिकार क्षेत्रका काम गर्न मिल्दैन । त्यसकारण चाहेर पनि धेरै काम गर्न सकिन्न । अहिले जारी रहेको विकास निर्माणका ठूला योजना पूरा गर्नुपर्ने दायित्व ममाथि रहेको छ । धेरै विकास निर्माणको काम पनि सुरु गर्नु पर्नेछ । हेटौंडाको प्रदेशको राजधानी भएकाले त्यसलाई सुहाउने गरी विकास निर्माण गर्नु जरुरी छ ।

एमालेको लामो विरासतलाई तोडेर तपाईं निर्वाचित हुनु भएको छ । यसलाई कसरी लिनु भएको छ ।

देशमा अधिकारका लागि धेरै परिवर्तनहरू भएका छन्‚ जसका कारण सबैको अधिकार स्थापित हुन जरुरी पनि छ । आफ्नो अधिकार प्राप्तिका लागि सही नेतृत्व सही स्थानमा हुनुपर्छ भनेर हेटौंडावासीले बुझेका छन् । त्यसकारण मतदाताले मलाई छाने । र अहिले म यो स्थानमा छु । आफ्नो कार्यकालमा उनीहरूको समस्यालाई आफ्नै सम्झेर काम गर्ने प्रतिबद्धतासमेत जनाउन चाहन्छु ।

कार्यपालिकामा एमालेको बहुमत हुने देखिन्छ । यसले काम गर्न अप्ठ्यारो पर्दैन ? एमालेलाई कसरी मिलाउनुहुन्छ ?

हेटौंडाको विकास र समृद्धि बनाउन मलाई आम मतदाताले चुन्नुभएको हो । मैले गर्ने निर्णय हेटौंडाको हितका लागि हुनेछ । मैले गर्ने कार्य हेटौंडालाई समृद्ध बनाउनमै केन्द्रित हुनेछ; त्यसकारण बहुमत र अल्पमत भन्ने कुरा आउँदैन । जुनसुकै पार्टीबाट निर्वाचित भएर आएको भएपनि हाम्रो एउटै लक्ष्य भनेको जनताको सेवा गर्ने, हेटौंडालाई परिवर्तन गर्ने र समृद्ध बनाउने हो । त्यसकारण एमालेले कार्यपालिकामा हाम्रो बहुमत छ भन्ने ठान्नु पनि हुन्न भन्ने मलाई पूर्ण विश्वास छ । जतिखेर हामी निर्वाचनमा होमियौं‚ हाम्रा झन्डा र ब्यानर फरक थिए । अब विजयी भइसकेपछि हामीले ती सबै कुरालाई बिर्सिएर साझा सेवक भएका छौं । त्यसकारण कार्यपालिका सदस्य होस् वा वडा सदस्य‚ सबै जना अभिभावक भएर काम गर्नुपर्छ । हाम्रो वचनमा विवाद होला तर निर्णय प्रक्रिया र विकासे काममा विवाद हुँदैन । मैले अल्पमत र बहुमतको विषय सोचेको समेत छैन ।

स्वास्थ्य सेवा हेटौंडाको प्रमुख समस्याको रुपमा रहेको छ । यसलाई समाधान गर्न के कस्ता योजना बनाउनुभएको छ ?

हेटौंडाको स्वास्थ्य अवस्थाको विषयमा मलाई जानकारी नै छ । हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर यो क्षेत्रलाई सुधार्ने मेरो पहिलो योजना रहेको छ । सरकारी अस्पतालाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न आवश्यक पर्ने वातावरण तयार पार्न पहल गर्ने नै छु । सरकारी अस्पताल हाम्रो क्षेत्राधिकारको विषय होइन । तर, जनताको प्रत्यक्ष चासोका विषय भएका कारण हामी समन्वयबाट पछाडि हट्न मिल्दैन । पाँचवर्षे कार्यकालमा हेटौंडाभित्र महिला प्रसूती अस्पताल र ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने हाम्रो योजना छ । हामी प्रदेश र संघसँगको सहकार्यमा यो काम गर्नेछौं । स्वास्थ्य क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई समेत हामी प्रोत्साहन गर्नेछौं । प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गर्नेछौं । वडामा रहेको स्वास्थ्य क्लिनिकमा विशेषज्ञ डाक्टरसहित सुविधा सम्पन्न बनाउने गरी काम गर्नेछौं ।

तपाईंले महिलाहरूका लागि केही विशेष योजना बनाउनु भएको छ कि ?

हामी अब कार्यपालिकाको निर्माण सकिएपछि आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्ने छौं । मैले आगामी वर्ष महिला परिषद् नै निर्माण गरेर उहाँहरूको क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छु । परिषद्ले दिएको सल्लाह, सुझाव र योजनाबमोजिम हामी समग्र महिलाको हितमा काम गर्नेछौं ।

अहिलको मुख्य समस्या भनेको रोजगारीको हो । युवाहरूलाई रोजगारी सिर्जना गर्न के-कस्ता योजना बनाउनुभएको छ ?

युवाहरूलाई स्वरोजगार बनाउन मेरो भूमिका रहने छ । हेटौंडाको माटोलाई उत्पादनसँग जोड्न हामीले युवा शक्तिलाई अगाडि बढाउनै पर्छ । हामीले कृषि होस् वा अन्य उत्पादनशील क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्न जरुरी रहेको छ । त्यो युवाबाट मात्रै सम्भव हुन्छ । यस विषयमा म जानकार पनि छु । हामीले युवा लक्षित विशेष कार्यक्रम ल्याउँछौं । उनीहरूलाई स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बनाउने प्रयास मेरो रहनेछ ।