२०८१ बैशाख १७, सोमबार    

अविश्वासको प्रस्ताव दर्ता गराउनेले नै गरे मतदान बहिष्कार, नेम्वाङको पक्षमा ५२ मत

२०८० कार्तिक २३, बिहीबार १६:४२ बजे

अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

मकवानपुरको हेटौंडामा आयोजित विशेष साधारणसभामा बिहीबार नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा भोट दिँदै अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने मत व्यक्त गरेका छन् । 

अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् ।

एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुनेमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्षमा भने एक भोट पनि परेन ।

हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो ।

साधारण सभामा विवाद हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।

साधारणसभामा दुईसय १० जना प्रतिनिधिको उपस्थिति रहेपनि ८७ जना सदस्यसँग मात्र मताधिकार रहेको छ ।