२०८१ बैशाख १३, बिहीबार    

मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन

२०७९ बैशाख २८, बुधबार ११:१६ बजे

स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३ हजार २ सय सुरक्षाकर्मी खटिएका हुन् ।

निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको हो ।

‘मतदान केन्द्रभित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिरा सेना खटाइनेछ ।’, उनका अनुसार बुधबारबाट मतदाता परिचय पत्र वितरण सुरु हुनेछ । ‘मतदाता परिचय पत्र वितरण र मतदान स्थल निर्माण कार्यसँगसँगै अगाडि बढाउने छौं ।’, उनले भने ।

जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्लाका १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ ।

जिल्लाको राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । यसपटकको निर्वाचनमा एउटा निर्वाचनस्थल थपिएको भएको हो । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।