२०८१ जेठ ४, शुक्रबार    

‘नवीन सिग्देलले मेरो घर भत्काउन खोजे’

२०७८ फाल्गुन २८, शनिबार १२:३२ बजे

हेटौंडा/ हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले सडक विस्तारको नाममा आफ्नो घर भत्काउने खोजेको आरोप स्कुलरोडका रामबहादुर श्रेष्ठले लगाएका छन् ।

हेटौंडा–४, स्कुलरोडका श्रेष्ठले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूखुशी उपभोक्ता समिति बनाएर सडक विस्तारको नाममा आफ्नो घर भत्काउन खोजेको आरोप लगाएका हुन् । आफ्नी पत्नी कृष्णमाया श्रेष्ठको नाममा स्कुलरोडमा रहेको एक तले घर भत्काएर सडक विस्तार गर्नेभन्दै ‘हावादारी’ उपभोक्ता समिति बनाएपछि बाध्य भएर अदालत जान बाध्य भएको उनले बताए ।

सडक स्तरोन्नति गर्नका लागि एउटै परिवारबाट धेरै मानिस सहभागी गराएर समिति गठन गरेर घरधनीलाई थाहै नदिइ मेयरको आदेशमा नगरप्रहरी परिचालन गरेर आफ्नो घर भत्काउन लागेको उनको आरोप छ । ‘सडक विस्तार गर्न डोजर ल्याएपछि मैले बाध्य भएर अदालत जानुपर्ने अवस्था सिर्जना भयो । मेयरको आदेश भनेर नगर प्रहरी परिचालन भयो ।’, उनले आफ्नो घरबाट ५ फिटको बाटो गएको र अझै एक फिट छोडेर २०३५ सालमा घर निर्माण गरेको बताए ।

‘नक्सा समेत पास गरेर बनाएको हो । अहिले आएर सडक विस्तार गर्नुपर्छ भनेर मलाई दु:ख दिने काम भएको छ ।’, उनले उपभोक्ता समितिमा आफ्नो मान्छेमात्र समेटिएको आरोप समेत लगाए । ‘स्कुलरोडमा मेरो ५ वटा घर छ । मेरो परिवारबाटै कसैलाई पनि समितिमा राखिएको छैन । गलत नियत राखेर समिति बनाइएको यहँीबाट प्रष्ट हुन्छ ।’, उनले भने ।

उनले वडाअध्यक्षको गलत कार्यको विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको र अदालतले अन्तरिम आदेश नभत्काउन दिएको बताए । ‘अब कानुनी प्रक्रियाबाट सवै विषय टुंगिन्छ । तर, ममाथि निरन्त वडा अध्यक्षबाट दु:ख दिने काम भइरहेको छ ।’, उनले भने ।