२०८१ बैशाख १३, बिहीबार    

एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन

२०७९ आश्विन ५, बुधबार १७:१८ बजे

नेकपा एमाले मकवानपुरले मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर संविधानसभा सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७ सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ । निर्वाचन परिचालन कमिटी गठनसँगै निर्वाचन कार्यालयको पनि स्थापना गरिएको छ ।
एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जिल्ला निर्वाचन परिचालन कमिटीसँगै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय निर्वाचन कमिटी, पालिका, वडा र बुथस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिने जानकारी दिए । जिल्ला निर्वाचन परिचालन कमिटीको सहसंयोजकमा एकालाल श्रेष्ठ, सचिवमा नवीन सिग्देल रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रामचन्द्र राई, सचिवमा अनिलकुमार बानियाँ, क्षेत्र नम्बर २ को संयोजकमा सुवासचन्द्र ठकुरी, सचिवमा मेम्बर लोलाई जिम्मेवारी दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रदेश सभा १ को ‘क’ को संयोजकमा दिलबहादुर घिसिङ, सचिवमा कृष्णप्रसाद चौलागाई, १ को ‘ख’ को संयोजकमा रघुनाथ खुलाल र सचिवमा इन्द्रप्रसाद नेपाल, प्रदेश सभा २ को ‘क’ को संयोजकमा बलराम बल, सचिवमा पार्वती राना, २ को ‘ख’ को संयोजकमा एकराज उप्रेती र सचिवमा नरेन्द्रलाल रिजाललाई जिम्मेवारी दिइएको छ ।

पार्टीको पालिकास्तरीय कमिटीले नै पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने बताइएको छ । निर्वाचनको प्रचारप्रसारका लागि पार्टी कार्यालयमै प्रतिनिधिसभा १ र २ को कार्यालय रहने जानकारी दिए ।