२०८१ बैशाख १५, शनिबार    

सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई कुनै शक्तिले धुलिसात गर्न सक्दैन : प्रदेश प्रमुख शर्मा

२०८० माघ १८, बिहीबार १८:३८ बजे

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले वर्तमान भविष्य निर्माणको आधार भएको बताए ।

बागमती प्रदेशसभाको छैटौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभाले आफ्ना आवश्यकता पहिचान गरी आवश्यक परे थप अन्य कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिने र संसद् पूर्ण क्रियाशील रहने विश्वास व्यक्त गरे ।

हाम्रा विकासको गति केही ढिला भएपनि गन्तव्य पनि सुनिश्चित रहेको प्रदेश प्रमुख शर्माले बताए । लामो समयसम्म संसदीय समितिहरू बन्न नसक्नु, कार्यसम्पादनमा अवरोध तथा ढिलासुस्ती हुनु र जिम्मेवारी बोधको अभाव हुनु सुखद सङ्केत नभएको उनको भनाई छ । संसद्का समस्याहरू समाधान गर्दै निरन्तरता दिन जरुरी रहेको उनले बताए ।

‘उचित समयमा वाञ्छित परिणाम नपाउँदा विश्वासको सङ्कट र भरोसामा ह्रास आउन सक्छ । तर टुटेका सेलहरूप्रति प्रलाप नगरी नयाँ सेल निर्माणको उपचारमा लाग्नु श्रेयकर हुनेछ । यसले मात्र हाम्रो संवेदनशीलता, प्रगल्पता र सहिष्णुताको परिचय दिनेछ’ उनले भने, ‘कुण्ठा, प्रतिशोध र दुराकांक्षाको तुवाँलो यदाकदा संघीयताको आकाशमा मडारिन्छ । नेपाली जनताले वसन्त क्रान्तिको जगमा खडा गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आवारा बादलको वर्षा गराउने बेमौसमको मेघनाद सुनिन्छ ।’

लामो सङ्घर्ष र बलिदानको परिणाम उपलब्धिलाई कुनै शक्तिले पनि धुलिसात गर्न नसक्ने उनले बताए । समग्र उपलब्धिको संरक्षण र संवर्द्धन सबै मिलेर गर्नुपर्ने भएकाले सिद्धान्त पथमा यात्रीका रूपमा हामीले अघि बढ्न जरुरी रहेको उनको भनाई छ । प्रदेशमा रहेका विकासका प्रशस्त सम्भावनाहरू उजागर गर्दै यथोचित अन्वेषण र उन्नयनमा लाग्न जरुरी रहेको उनले बताए ।

निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, खाद्यान्नमा आत्मनिर्भरता हुँदै शिक्षा र स्वास्थ्यमा हुने व्यापारीकरण नियन्त्रण गरेर आर्थिक अवस्थामा सुधार ल्याउन सम्भव रहेको उनले बताए । विकास र समृद्धिको समस्या सरकार र प्रतिपक्षको साझा भएको उनले टिप्पणी गरे । संवाद, सहमति र सहकार्यबाट अघि बढ्न जरुरी रहेको प्रदेश प्रमुख शर्माले बताए ।

‘प्रदेशसभाले आगामी दिनमा उद्योग व्यवसायको स्थापना र प्रवर्द्धन, विकास र उत्थान गर्न सक्ने नीति तथा कार्यक्रम तर्जुमा गर्न जरुरी छ । सेवाग्राहीहरूको गुनासोलाई उचित सम्बोधन र निराकरण गर्नु अपरिहार्य छ । प्रदेशको समग्र विकासको योजना तर्जुमा, सीमान्त समुदायलाई राष्ट्रको मूल प्रवाहमा समाहित गर्नु, कला, संस्कृति, र पेशा जगेर्ना गर्नुपर्छ । समस्या न सत्तापक्षको मात्र हो नत प्रतिपक्षको । समस्या समस्या नै हो, उल्झन हो । स्थायी अवरोध होइन । एउटा राष्ट्रको सर्वाङ्गीण विकास जनताको विकास हो, न उसको न यसको’ उनले भने ।