२०८१ बैशाख ६, बिहीबार    

सहमतिपछि प्रदेशसभा सञ्चालन, ९ वटा मन्त्रालयको बजेटमाथि छलफल

२०७९ असार १३, सोमबार १४:४७ बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच बजेट सन्तुलित बनाउने विषयमा सहमति भएपछि वाग्मती प्रदेशसभाको बैठक सुरु भएको छ ।

एमालेले बजेटमा असहमति राख्दै आइतबार प्रदेशसभामा अवरोध सिर्जना गरेको थियो । अवरोधसँगै बैठक एक दिनका लागि स्थगित गरिएको थियो । सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सर्वदलीय सहमतिमा दिउँसो १ बजेबाट सुरु भएको हो ।

एमालेले बजेटको विषयमा राखेको असन्तुष्टिलाई सदनमा सम्बोधन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले छुटेका विषयलाई समेट्ने प्रतिवद्धता जनाएका थिए । उनको प्रतिवद्धतासँगै एमाले सदनको अवरोधबाट पछाडि हटेको हो ।

सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा प्रदेशसभा भवनमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको उपस्थिति थियो ।

प्रदेशसभा बैठकमा ९ वटा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ । बैठकमा आर्थिक वर्ष ०७९/८० को विनियोजन विधेयकमाथिको छलफलका क्रममा ९ वटा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल जारी छ ।

संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।