२०८१ बैशाख १२, बुधबार    

कर्मचारीको लडाईले किसानलाई बाँड्न ल्याएको घाँसका बिरुवा अलपत्र

२०७९ श्रावण ८, आईतबार १२:२१ बजे

मकवानपुरगढी गाउँपालिका कार्यालयको लापरबाहीका कारण किसानलाई बाँड्न ल्याइएको घाँसको विरुवा अलपत्र परेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तमा हतारहतार खरिद गरेर ल्याइएको घाँसको विरुवा गाउँपालिका नकिजै सुकेर बसेको छ । विरुवा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले गाउँपालिकालाई दिएको हो । केन्द्रले चितवनबाट जिल्लाका १० स्थानीय तहलाई बाड्ने प्रयोजनका लागि ३ लाख रुपैयाँमा खरिद गरेर विरुवा ल्याएको थियो । जसमध्ये राक्सिराङ र कैलाश गाउँपालिकाका प्रतिनिधिहरुलाई केन्द्रमै बोलाएर विरुवा पठाएपनि बाँकी गाउँपालिकामा केन्द्रले नै विरुवा लगेको थियो ।

केन्द्रले विरुवा लगेपनि गाउँपालिकासँग भरपर्दो समन्वय नहुँदा किसानहरुले घाँसको विरुवा भने लगाउन नपाएका हुन् । राज्यको लगानी बालुवामा पानी हाले जस्तै भएको छ । गत २७ असारमा मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका विरुवा गाउँपालिका कार्यालय नजिकै चौतारामा अलपत्र परेको हो । विरुवा कुहिने अवस्थामा पुगेको छ । तर, विरुवा अलपत्र पार्ने दुवै निकाय भने पन्छिन खोजेका छन् । केन्द्रले गाउँपालिकालाई विरुवा दिएपछि किसानलाई वितरण गर्ने जिम्मेवारी पूरा नगरेको भन्दै गाउँपालिकालाई दोष दिन खोजेको छ । गाउँपालिकाले भने विरुवा ल्याएर राखेको बारे थाहा नै नभएको भन्दै उम्किन खोजेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले भने, ‘हामीले घाँसका विरुवाहरु १० पालिकामध्ये राक्सिराङ र कैलाशका प्रतिनिधिहरु बोलाएर पठाएको । बाँकी गाउँपालिकामा गएर पशु सेवा शाखामा बुझाएका हौं । बुझाएको भर्पाइ हामीसँगै छ ।,’उनले गाउँपालिका अध्यक्ष दोर्जे लामासँग कुरा भए पश्चात पालिकाकै एक कर्मचारीलाई विरुवा जिम्मा लगाएको दाबी गरे । केन्द्रका योजना शाखाका अधिकृत देवराज पराजुलीले गाउँपालिकामा विरुवा पु¥याएको ठाकुरको दाबी छ । उनले चितवनबाट ३ लाख रुपैयाँको घाँसको विरुवा ल्याएर १० वटा पालिकामै वितरण गरेको जानकारी दिए ।

मकवानपुरगढीका पशु शाखा प्रमुख सत्यनारायण साहले आफुसँग कुनै समन्वय नभएको बताए । बिरुवा किन ल्याएर फालियो भन्ने बिषयमा आफु अनविज्ञ रहेको उनको दाबी छ । उक्त घासको बिरुवा मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको भर्पाइ केन्द्रसँग रहेको दाबी केन्द्रका योजना शाखाका अधिकृत पराजुलीको छ । केन्द्रका प्रमुख ठाकुरका अनुसार गाउँपालिकाको पशु शाखा प्रमुख साहले विरुवा लैजाने क्रममा किसानहरुको घरदैलोमा पु¥याउनु पर्ने जवाफ फर्काएका थिए । केन्द्रले वडावडामा पशु प्राविधिकहरु रहेकाले कर्मचारीहरुबाट विरुवा वितरण गर्न लगाउन गाउँपालिकासँग आग्रह गरेको ठाकुर बताउँछन् ।

‘हामीले जिल्लाभरका १० वटा पालिका हेर्नुपर्छ । सबै पालिकाको वडावडामा पुगेर बाँडेर बस्न हामीसँग सम्भव छैन् । तर, गाउँपालिकासँग जनशक्ति भएकाले किसानका लागि विरुवा बाँड्न सक्थ्यो । मैले गाउँपालिका अध्यक्षसँग कुरा गरेर वडाका प्राविधिहरुबाट विरुवा बाँड्न आग्रह गर्दै गाउँपालिकालाई एकमुष्ट विरुवा दिएको हो । उहाँहरुको व्यवस्थापकीय कमजोरीका कारण विरुवा अलपत्र परेको हो ।,’ ठाकुरले भने । ‘सत्यनारायण साहले घरदैलोमा पु¥याउन पर्यो भन्दै हुनुहुन्थ्यो, हामीले वडा कार्यालयमा कर्मचारी छन परिचालन गर्नुपर्यो भनेर भनेका हौं ।,’ ठाकुरले थपे । केन्द्रले मकवानपुरगढीकै सानाकिसान सहकारीमा पनि विरुवा पठाएको थियो ।

विज्ञ केन्द्रबाट प्राप्त घाँसका बिरुवा समयमै किसानले नपाउँदा कुहिने अवस्थामा पुगेको हो । मकवानपुरगढीमा व्यवसायिक पशुपन्छी फर्महरु धेरै छन् । २०७४ पश्चात गठित स्थानीय सरकार सञ्चालनपछि मकवानपुरगढीमा गाईभैंसी र बाख्रा फर्महरु धेरै खुलेका हुन् ।पशुपालक किसानहरु घाँसको अभावले समस्यामा पर्ने गरेका छन् । तर, राज्यको बेतन खाएर सेवा गर्न सपथ खाएका कर्मचारीहरुको जुँगाको लडाईले किसानहरु पिल्सिएका छन् । किसानहरुले दोषि कर्मचारीको पहिचान गरी हदैसम्मको कारबाही गर्नुपर्ने आवाज उठाएका छन् ।