२०८१ बैशाख २२, शनिबार    

नटबोल्ट चोरी भएपछि हेटौंडा-इनरुवा प्रसारण लाइनको टावर ढल्यो

२०८० श्रावण ५, शुक्रबार १५:०० बजे

नटबोल्ट चोरी भएपछि रौतहटको चन्द्रपुर–४ स्थित हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको टावर ढलेको छ ।

टावरको तल्लो भागको एंगलको नटबोल्ट खोलेपछि चन्द्रपुर–लमाहा खण्डको तीन वटा टावर ढल्ने अवस्थामा पुगेको थियो । त्यसमध्येको एउटा टावर ढलेको हो । आयोजनाले ढलेको पोलको फलाम लगेको छ ।   

हेटौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माण हुँदै गरेको अवस्थामा नचिनेको मानिसहरूको समूहले रौतहट खण्डमा पर्ने तीन वटा टावरको जगबाटै नटबोल्ट खोलेपछि एउटा ढलेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताए । ‘अज्ञात समूहले निर्माण सम्पन्न भएका टावरमध्ये तीन वटाको जगैबाट नट खोलेर लगेको छ,’ उनले भने,‘नटबोल्ट चोरिएपछि एउटा पोल ढलेको छ । दुईवटा बांगो भएको छ । बांगिएको टावरको चाँडै मर्मतको काम थाल्छौ ।’

निर्देशक यादवका अनुसार नटबोल्ट खोल्ने समूहको पहिचानका लागि आयोजनाको तर्फबाट प्रहरीलाई उजुरी गरिसकेको छ । ढलेको र बांगो भएको टावरलाई तत्कालै मर्मत गर्ने आयोजनाले जनायो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुधार तथा नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा टावरको नटबोल्ट चोरी भएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउपालिका–४ मा जोडिने आयोजनाले जनाएको छ ।