२०८१ बैशाख ५, बुधबार    

मेयर लामाको पहिलो निर्णय: अतिविपन्नलाई नि:शुल्क स्वास्थ्य वीमा, पानी र विद्युत्

२०७९ जेठ ९, सोमबार १३:५० बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय सार्वजनिक गरेकी छन् ।

उनले पाँचबुँदे निर्णय गर्दै आफूले सार्वजनिक गरेको घोषण पत्र कार्यान्वयन तर्फ अगाडि बढेको संकेत दिएकी छन् । मेयर लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवारमध्ये १५४१ परिवारको स्वास्थ्य वीमा गरिदिने निर्णय गरेकी हुन् । उनले अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत नि:शुल्क उपलब्ध गराउने बताइन् । पहिलो चरणमा अतिविपन्नलाई र क्रमश: आम नगरबासीलाई नि:शुल्क उपलब्ध गराउने बताइएको छ ।

आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्न बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न मेयर छात्रवृत्ति कार्यक्रम लागू गर्ने निर्णय समेत भएको छ । बाटो विस्तारको क्रममा वीच भागमै छाडिएको पोलहरु सडकको छेउमा स्थानान्तरण गर्ने र महिला जागरण समूहमार्फत् लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने जनाइएको छ ।

‘हिंसा पीडित र प्रभावित महिला तथा बालबालिकाका लागि आश्रय स्थल (सेफ हाउस) मार्फत् प्रभावकारीरुपमा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।’, निर्णयमा भनिएको छ ।