२०८१ बैशाख ८, शनिबार    

कैलाश गाउँपालिका बालमैत्री घोषणाको अन्तिम तयारीमा

२०७९ भाद्र ९, बिहीबार १४:३४ बजे

आगामी मंसिर २५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा जुटेको मकवानपुरको कैलाश गाउँपालिकाले सञ्चारकर्मी र संघसंस्थाको भूमिकाबारे अन्तरक्रिया गरेको छ । बुधबार गाउँपालिका कार्यालय कालिकाटारमा मकवानपुरका सञ्चारकर्मी, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिलगायतसँग छलफल गरेको हो ।

बालमैत्री स्थानीय शासन स्थापित गर्नको लागि सञ्चारकर्मी र संघसंस्थाका प्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले अभिमुखीकरण गरेका थिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धी छलफल सुरु भएको थियो । गाउँपालिकाले प्रत्येक वडामा एक जना बालमैत्री सहजकर्ता र १ जना पालिकास्तरीय सहजकर्ता तोकेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले जानकारी दिए ।

बालमैत्री घोषणाको तयारीका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने क्रममा भदौ ६ गते स्वास्थ्यकर्मीको भूमिकाको बारेमा अन्तरक्रिया गरिएको थियो भने ७ गते गाउँपालिकाभरका विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच अन्तरक्रिया गरिएको थियो ।

कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको गाउँपालिका हुनेछ । यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भइकेको बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले जानकारी दिए ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक रहेका छन् । सो सूचकहरु पूरा गरिसकेपछि बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिनेछ ।

दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराईएको हुनुपर्ने, एक बर्षभित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्त गरी पूर्ण खोपयुक्त घोषणा भएको हुनुपर्ने, ५ बर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ बर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्नेलगायतका सूचकहरु तोकिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रबद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ÷नगरपालिकाको वडालाई दिएको छ । यहि व्यवस्था बमोजिम कैलाशलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए ।