२०८१ बैशाख १५, शनिबार    

वर्षेनी घाटामा हेटौंडा सिमेन्ट

२०७९ श्रावण २२, आईतबार १४:१६ बजे

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग वर्षेनी घाटामा र ऋणमा डुब्न थालेको छ । उद्योग पछिल्लो चार आर्थिक वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ ।

उद्योगले घाटासँगै करिव २० करोड रुपैयाँ ऋण पनि बोक्न बाध्य भएको छ । निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु, आफ्नो उत्पादनमा लगातार गिरावट र उत्पादित सिमेन्ट विक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । गत आव २०७८/०७९ मा करिब साढे २३ करोड रुपैयाँ उद्योगले घाटा व्यहोरेको छ । उद्योगका महाप्रबन्धक बसन्त पाण्डेका अनुसार उद्योगले आव २०७४/०७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसयता उद्योग निरन्तर घाटामा छ ।

उद्योगले गतआवमा एकअर्ब २२ करोड आम्दानी गरेको उद्योगले एकअर्ब ३९ करोड खर्च गरेको छ । आव २०७५/०७६ मा उद्योगले एक करोड ५ लाख, आव ०७६/७७ मा २३ करोड ८२ लाख, आव ०७७/०७८ मा थप १७ करोड चार लाख नोक्सान उद्योगले व्यहोरेको छ । उद्योगमा गत आव ०७८/७९ मा उत्पादन भएको करिब तीन लाख बोरा सिमेन्ट बिक्री नभएर गोदाममै थन्किएको छ । यसका कारण उद्योगलाई दुई अर्ब बढी रकम घाटा लागेको छ । उद्योगले गत आव ०७८/७९ मा १९ लाख बोरो सिमेन्ट उत्पादन गरेकोमा १६ लाख बोरा सिमेन्ट बिक्री गर्न सकेको थियो । उद्योगले सिमेन्टको विक्री बढाउन स्थानीय तहसँग समन्वय गरेपनि त्यसले कुनै अर्थ राखेन । निजी उद्योगले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन गाह्रो भएको हो ।

बजारसँग प्रतिस्पर्धा गर्न उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७४६ रुपैयाँ ९३ पैसामा बिक्री गरिरहेको छ । जुन उत्पादन लगात मूल्यभन्दा एकसय ५३ रुपैयाँ ७ पैसा कमी हो । उद्योगलाई एक बोरा सिमेन्ट उत्पादन गर्न करिब ९०० रुपैयाँ लागत पर्ने गरेको छ । ‘उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएका कारण पनि समस्या भएको महाप्रबन्धक पाण्डे बताउँछन् । ‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेको छ । पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा सञ्चालन गरेर उत्पादन गर्न नसक्ने अवस्था छ ।’, उनले उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या समाधान गर्न र निजी उद्योगसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए ।

‘धेरै मेहेनत गरेर विग्रिएको मेसिन निर्माण गरेर उत्पादन सुरु हुन पाउँदैन केही न केही समस्या आइहाल्छ ।’, उनले नयाँ मेसिन थप्ने विषयमा सरकारलाई धेरै पटक उद्योगले आग्रह गरेपनि त्यसविषयमा सुनुवाइ भएको छैन । उद्योगमा स्थापनाको समयदेखिकै मेसिनहरु रहेका कारण समस्या सिर्जना हुने गरेको छ । ‘मेसिनहरु नयाँ प्रविधिको आवश्यकता रहेको छ । पुरानै मेसिन हुँदा उत्पादन क्षमता कमजोर रहेको छ । विद्युत खपत पनि बढी रहेको छ । जसको कारणले हामीलाई मार परिरहेको छ ।’, उनले उद्योगमा नयाँ मेसिन थपेर लागत घटाउँदै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न जरुरी रहेको औंल्याए ।

हेटौंडा सिमेन्ट उद्योगअन्तर्गत् करिव १ सय १ बिघा क्षेत्रफलमा क्षेत्रफल रहेको छ । २०३३ सालमा स्थापना भएको उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगमा तीनसय ७० जना कर्मचारी कार्यरत् छन् । हेटौंडा नगरपालिका–९, लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एकहजार टन चुनढुंगाको आवश्यकता पर्छ । उद्योगको खानीमा विभिन्न समयमा स्थानयीबाट हुने गरेको अबरोधले गर्दा समय समयमा उद्योग बन्द हुने गरेको छ । उद्योगले धादिङस्थित जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ ।

कुनै समयमा नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग केहीवर्षयता अस्तित्व जोगाउनका लागि मात्रै सञ्चालनमा रहेको छ । गुडविल’ले मात्रै टिकेको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा पुगिसकेको त्यहाँ कार्यरत् कर्मचारीहरु बताउँछन् । हेटौंडा सिमेन्ट देशभरमै सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ ।