२०८० चैत्र १६, शुक्रबार    

‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’

२०७९ पौष १४, बिहीबार १८:११ बजे

पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ । 

बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गमैत्री संरचना नहुँदा शपथ कार्यक्रममै समस्या भोग्नुपरेको गुनासो गरेकी हुन् । उनी स्पाइनल कर्ड इन्जुरी भएर ह्विलचियर प्रयोग गर्दै आएकी छिन् । घिमिरे रामेछाप जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

‘पहिलो दिन शपथ ग्रहणको लागि आउँदा नै कष्ट भयो’, घिमिरेले भनिन्, ‘राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्गमैत्री संरचना हुनुपर्ने मागसहित ज्ञापन पत्र पनि बुझाएको थियो तर त्यसको कुनै सुनुवाइ भएको पाइएन। दुःख लाग्यो ।’ 

बिहीबार दिउँसो हेटौँडास्थित बागमती प्रदेशसभा भवनमा भएको भिडभाडबाट घिमिरेलाई शपथ ग्रहणको लागि भित्र प्रवेश गर्न सास्ती भएको थियो। प्रदेशसभा भवनभित्र ह्विलचियरमा कुन बाटोबाट प्रवेश गर्ने भन्ने नै उनलाई अन्यौलता भएको थियो। एक जना सारथिको सहयोगमा मुस्किलले भित्र प्रवेश गरेको उनले सुनाइन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका–४ निवासी घिमिरेको १६ वर्षको उमेरमै भीरबाट लडेर मेरुदण्डको पक्षाघात भएको थियो । ११ कक्षामा पढ्दै गर्दा २०६६ सालमा भीरबाट लडेर मेरुदण्ड पक्षाघात भएको उनले सुनाइन् । ढाडको स्पाइनल नसा च्यापिएपछि उनको अहिले शरीरको कम्मर मुनिको भाग चल्दैन। अपाङ्ग भएकाहरू अझैपनि कष्टकर जीवन बिताउन बाध्य रहेको स्मरण गर्दै उनले अपाङ्गताको क्षेत्रमा कानुन र नीति निर्माणका लागि पहल गर्ने बताइन् ।

राप्रपाबाट प्रदेश सभा सदस्य बनेकी उनी प्रदेश सभाको दोस्रो कार्यकालमा ११० संसद् मध्ये अपाङ्गताको क्षेत्रको एक मात्र प्रतिनिधि हुन् । अघिल्लो कार्यकालमा समानुपातिक निर्वाचन प्रणालीबाट अपाङ्गताको क्षेत्रबाट नेपाली काँग्रेसका भीमसेन खत्री निर्वाचित भएका थिए ।

२०७४ सालमा साझा पार्टी स्थापना भएसँगै राजनीतिक यात्रा सुरु गरेकी घिमिरेले युवा सङ्गठनको केन्द्रीय समितिमा रहेर काम गरेकी थिइन् । साझा पार्टी र विवेकशील पार्टीको एकता भएपछि उनी पार्टीको केन्द्रीय सदस्य भएकी थिइन् । पार्टीभित्र आन्तरिक द्वन्द्व बढेपछि उनी विवेकशील साझा पार्टी छोडेर राप्रपामा लागेकी हुन्। अपाङ्गता भएकाहरूलाई दयाको दृष्टिले हेर्नु भन्दा पनि अवसरको खाँचो रहेको उनी बताउँछिन् ।

अपाङ्गता भएकाहरूको अधिकारसँगै अपाङ्गतामैत्री संरचना निर्माणका लागि सदनबाट आवाज उठाउने उनले दोहोर्‍याइन् । उनी ह्विलचियरबाटै बास्केटबल, भारोत्तोलन लगायतका खेलमा पनि सक्रिय रहेकी छिन् ।

यता बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बन्दै गरेको प्रदेशसभा भवन अपाङ्गमैत्री हुने र अपाङ्गता भएका प्रदेश सदस्यलाई निश्चित स्थान र क्रम तोकेर एक जना सहयोगी व्यक्तिलाई दर्शक दीर्घामा बस्ने व्यवस्थाका लागि छलफल भैरहेको बताए । अपाङ्गता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएको जानकारी पाएसँगै प्रदेश सभा हललाई अपाङ्गमैत्री बनाउने प्रयास गरेको प्रतिक्रिया दिए ।