२०८१ बैशाख ७, शुक्रबार    

एमालेका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

२०७९ कार्तिक १५, मंगलबार १७:०३ बजे

नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फर्किएकी मनहरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मनिला बिष्टको वडामा एमालेका जिल्ला सदस्य एवम् गत चुनावमा वडाध्यक्षका प्रत्यासी सानुकान्छा तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका छन् ।

मनहरी ९ रजैयामा आयोजित गठबन्धन आबद्ध दलका महिला संगठनको कार्यकर्ता भेलाका बीच तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य तितुङ, संगठित सदस्य भगवान रेग्मी, गणेश सुनाम, बिष्णुमाया थिङ गोमा, शेरबहादुर तितुङ लगायत रहेका छन् । उनीहरुलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ, कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतका नेताहरुले टीका, खादा र माला लगाएर कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।

एमाले हराउन लागिपरेका नेताहरु नै अहिले एमालेको प्यारो भएकोले मुलुकको विकास र समृद्धि गर्ने पार्टी कांग्रेस रोजेको तितुङले बताए । गठबन्धनका उम्मेदवार जिताउने अभियानमा आजैबाट सकृय हुने उनले प्रतिबद्धता जनाए । एमालेको झुटो आस्वासन र झुटा नाराले अब कसैले पनि एमालेलाई मत नहाल्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्यको उम्मेदवार बानियाँले कांग्रेसप्रती बढ्दो आकर्षणले नै कांग्रेस र गठबन्धनको जित सुनिस्चित देखिएको बताए । गाउँपालिका सभापति प्रकाश बर्तौलाले नवप्रवेशीहरुलाई योग्यता र्क्षमताको आधारमा जिम्मेवारी दिइने प्रतिबद्धता जनाए ।

तितुङ अघिल्लो र यसपटकको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका थिए ।