२०८१ बैशाख १२, बुधबार    

थानकोट–चित्लाङ सडक छिट्टै कालोपत्रे गर्न माग

२०७९ श्रावण ११, बुधबार ११:२३ बजे

थानकोट–चित्लाङ सडकमा छिट्टो कालोपत्रे गर्न माग भएको छ । वर्षौदेखि थानकोट–चित्लाङ सडक निर्माण सुरु गरिएपछि हालसम्म यसले पूर्णता पाउन सकेको छैन् ।

थाहा नगरपालिकाका जनप्रतिनिधिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गरी कालोपत्रे गर्न माग गरेका हुन् । थाहा नगर प्रमुख बिष्णु बिष्टसहितको टोलीले सोमबार भौतिक योजना सचिव गोपालप्रसाद सिग्देलसमक्ष कालापत्रे गरेर छिटो सडक सुचारु गर्न माग गरेका हुन् । काठमाडौं आवतजावत गर्न उत्तरी क्षेत्रका सर्वसाधारणलाई थानकोट–चित्लाङ सडक निक्कै छोटो पर्छ । थाहा र इन्द्रसरोबरका स्थानीयले यस सडकमार्फत् करिब एक घण्टामै काठमाडौं पुग्न सक्छन् ।

थाहाका प्रमुख विष्ट, थाहा–९ का वडा अध्यक्ष राजकुमार बलामी, कांग्रेस नेता जयराम लामिछाने, विष्णुहरि ढकाल, सिताराम अर्याल, विनोद महर्जन, विश्वमान श्रेष्ठको टोली भौतिक योजना कार्यलय पुगेका हुन् । उनीहरुले सडक तत्काल सञ्चालनमा ल्याउन विस्तृत सर्वेक्षण गरी बजेट प्रबन्ध गरेर चालू आर्थिक बर्षमा कालोपत्रे गर्न माग गरेका हुन् ।

थानकोट–चित्लाङ सडकको सम्पूर्ण कार्य सम्पन्न गर्न थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने विषयमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट र चन्द्रागिरी नगरका प्रमुख धनश्याम गिरीबीच सहमतिसमेत भएको छ ।