२०८० चैत्र १५, बिहीबार    

नेपालका नयाँ प्रशिक्षक प्रभाकरको विशेषता

२०७९ श्रावण २४, मंगलबार ०८:३१ बजे

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । एक वर्षको लागि क्यानले उनीसँग सम्झौता गरेको बताइएको छ ।

प्रभाकर भारतीय क्रिकेटमा आफ्नो समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । भारतले सन् १९८३ मा विश्वकप जितेपछि अर्को वर्ष प्रभाकरलाई डेब्यू दिएको थियो । उनले दिल्लीमा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । सुनिल गावस्कारको कप्तानीमा उनले टेस्टमा भारतीय टोलीमा तीव्र गतिका बलिङ अलराउन्डरको रुपमा भारतीय टोलीमा स्थान बनाएका थिए ।

तीव्र गतिमा बलिङ गर्ने उनले तल्लोक्रममा राम्रो ब्याटिङ गरे । उनले सचिन तेन्दुलकरको साथ ओपनिङ पनि गरे । ओडिआईमा भने १९९४ मा नै शारजाहमा श्रीलंकाविरुद्ध डेब्यू गरेका थिए । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनल सम्म पुर्याउन उनको प्रदर्शन सानदार थियो ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सचिनसँगै ओपनिङ गरेपनि उनी ७ रनमै आउट भएका थिए । सचिनको १ सय ३७ रन अविजित र कप्तान मोहम्मद अजहरुद्दीनको ७२ रनको सहयोगमा भारतले ३ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो ।

श्रीलंकाले ८ बल अगाडिनै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रभाकरले त्यसबेला घरेलु मैदानमै ४ ओभरमा ४७ रन खर्चेका थिए । त्यो समय विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहिबाट सकिएको थियो । त्यो खेलपछि भारतको टोलीमा उनले पुन मौका पाएनन् । त्यसैले उनलाई जयसूर्याले करिअर सकाएका अलराउन्डर समेत भन्ने गरिन्छ ।

१९९० को दशकमा भारतका प्रभावशाली अलराउन्डरको छवी बनाएका प्रभाकरको करिअर एक खेलको प्रदर्शनले सकियो । उनले टेस्टमा एक, ओडिआईमा दुई, प्रथम श्रेणीमा २० र लिष्ट ए मा ४ शतक हानेका छन् । बलिङतर्फ ओडिआईमा १ सय ५७ र टेस्टमा ९६ विकेट लिएका छन् । ओडिआईमा उनले १ हजार ८ सय ५८ र टेस्टमा १ हजार ६ सय रन बनाएका छन् । प्रभाकर ओडिआई र टेस्ट दुबैमा बलिङ र ब्याटिङ दुबैमा ओपनिङ गर्ने खेलाडी हुन् ।

म्याच फिक्सिङ र प्रतिबन्ध

प्रभाकर भारतीय क्रिकेटमा विवादित नाम हुन् । उनलाई वेस्टइन्डिजसँगको खेलको क्रममा म्याच फिक्सिङ गरेको भन्दै बिसिसिआईले २००० मा भारतमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । उनले गावस्कार, कपिल देव, नवजोत सिंह सिन्धु र मोरेले ड्रेसिङ रुपमा म्याच फिक्सिङ गर्ने आरोप लगाएका थिए । ६ वर्षपछि उनको प्रतिबन्ध हटेको थियो ।

प्रशिक्षकमा अनुभवी

लामो समयको प्रतिबन्धपछि उनी सन् २००७/०८ को संस्करणमा रणजी ट्रफीमा उनले दिल्लीको बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । गौतम गम्भीरको कप्तानीमा दिल्लीले उत्तर प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो । आकाश चोपराले पहिलो इनिङ र गम्भीरले दोस्रो इनिङमा शतक हानेका थिए ।

२००९/१० मा उनी राजस्थानको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि दिल्ली पुगेका उनी बोर्डसँग खटपटका कारण बर्खास्तीमा परे । उनले २०१५ देखि २०१६ मा भारतमा भएको टि२० विश्वकपसम्म अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कडा स्वभावमा प्रभाकर

प्रभाकर कडा र तिखो बोली स्वभावका प्रशिक्षक मानिन्छन् । उनी आफ्नो स्वभावका कारण पनि आलोचनामा पर्दै आएका छन् । २०११/१२ को रणजी ट्रफीको सिजन सुरु हुन दुई दिन अघि दिल्लीले उनलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । त्यस क्रममा उनले खेलाडी र छनोटकर्ताको बारे कडा टिप्पणी गरेका थिए ।

खेलाडी र छनोटकर्ताकै आग्रहमा दिल्लीले उनलाई हटाएको थियो । त्यस समय दिल्लीका प्रमुख ब्याटर शिखर धवन र उनमुक्त चन्दको प्रदर्शन बारे टिप्पणी गरेपछि उनको चर्को आलोचना भएको थियो ।