२०८० चैत्र १६, शुक्रबार    

बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

२०७९ श्रावण ३०, सोमबार १०:२५ बजे

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ ।

हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।

राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।

राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ । स्थानीय दिनेश कार्कीले स्थानीय पीडितको नाममा फोहोरमा राजनीति गर्नेहरुसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताए । उनले राजनीति गर्नेहरुलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताए ।

‘स्थानीय पीडितको नाममा राज्यसँग मिलेर राजनीति गर्नेहरूलाई अब कुदुले बन्चरे ल्यान्डफिल साइडमा आजबाट प्रवेश निषेध गरिएको छ,’ उनले भने । अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भैरहेको छ ।