२०८१ बैशाख ८, शनिबार    

संघीय मामिलाविरुद्ध अख्तियारमा बढी उजुरी

२०७९ आश्विन १३, बिहीबार ११:४१ बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिलाविरुद्धका रहेका छन् ।

अख्तियार हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका उजुरीमध्ये एक तिहाई संघीय मामिलासँग सरोकार राख्ने छन् । अख्तियार हेटौंडाको कार्यक्षेत्र अन्तर्गत ११ जिल्लाबाट आयोगमा परेको १ हजार ६ सय उजुरीमध्ये संघीय मामिलाको ३३.१ प्रतिशत उजुरी परेको कार्यालयले जनाएको छ ।

दोस्रोमा शिक्षा (स्थानीय तहसमेत) १५.३ प्रतिशत, भूमि प्रशासन ७.७ प्रतिशत, वन तथा वातावरण ४.६ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.९ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात ३.८ प्रतिशत, गृह प्रशासन ३.७ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्य ३.२ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाई ३.१ प्रतिशत, खानेपानी तथा शहरी विकास २.९ प्रतिशत उजुरी परेको छ । अर्थ १.९ प्रतिशत, कृषि तथा पशुपक्षी १.९ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित ०.९ प्रतिशत उजुरी परेको कार्यालयले जनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र ५.७ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ४.८ प्रतिशत र अन्य निकाय र क्षेत्रसाग सम्बन्धित उजुरीहरू ३ प्रतिशत रहेको कार्यालयले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अख्तियारमा परेको उजुरीमध्ये सबैभन्दा बढी बारा जिल्लाको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले प्रमुख शर्मालाई हस्तान्तरण गरेको प्रतिवेदन अनुसार बाराबाट मात्र ३९१ वटा उजुरी परेका छन भने रौतहटबाट ३७४ वटा मकवानपुरबाट ३१० वटा, पर्साबाट २८६ वटा र चितवनबाट २६१ वटा उजुरीहरू परेका छन् । मकवानपुरबाट ३ सय १० वटा उजुरी दर्ता भएको छ । आयोगको कार्यअधिकारमा वाग्मती प्रदेशको ८ र मधेश प्रदेशको ३ जिल्ला पर्छन् ।