२०८० चैत्र १६, शुक्रबार    

प्लाष्टिक झोला प्रयोग नगर्ने उपमहानगरको प्रतिबद्धता

२०७९ असार १३, सोमबार १७:१० बजे

सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई हेटौंडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र प्रमुख कार्यकारी अधिकृत शिबराज चौलागाईले कार्यालय परिसरमा ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२ र हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा हस्ताक्षर गर्दै उपप्रमुख बानियाँ र अधिकृत चौलागाईंले प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता जनाउँने कार्यक्रममा उपमहानगरका उपप्रमुख बानियाँले औपचारिक कार्यक्रमभन्दा पनि प्रतिफलमा ध्यान दिन आग्रह गरे । उनले भने ‘धेरै अघिबाट यस्ता अभियानहरु सञ्चालन भएका छन् । तर, कार्यान्वयनमा नआउँदा समस्या भएको छ ।’ अभियानलाई कार्यान्वयनमा ल्याउनका लागि सुक्ष्म अध्ययन गरेरै कामलाई अघि बढाउन जरुरी रहेको उनले औल्याए । अभियानलाई प्रभावकारी बनाउँनका लागि बजारका पसलहरु, विक्री केन्द्र र आयातलाई रोक्न जरुरी रहेको उपप्रमुख बानियाँले बताए ।

प्रतिबद्धता अनुसार उपमहानगर कार्यालय परिसर र हेटौंडा उपमहानगरपालिका– २ नम्बर वडा क्षेत्रमा ४० माइक्रोन बराबरको प्लाष्टिकको प्रयोग नगर्ने र गर्न नदिने उल्लेख छ । चालु आर्थिक वर्षमा कार्यपालिकाको बैठकबाटै उपमहानरसहित हेटौंडा–२ मा रहेका सरकारी कार्यालय र टोलमा कम तौल भएका प्लाष्टिकको प्रयोग रोक्ने अभियान सुरु भए अनुसार प्रतिबद्धता गरिएकोे समाजिक महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।

संघीय सरकारले २०६८ साउन १ गतेबाट ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोगमा लगाएको रोक लगाउने निर्णय गरेको थियो ।