२०८१ जेठ ४, शुक्रबार    

एकालालले ‘वान टिम’ च्याप्दा एमालेमा भाँडभैलो

२०७८ फाल्गुन २६, बिहीबार १३:२४ बजे

हेटौंडा/ तत्कालिन एमाले नफुट्दा नै एमालेमा ओली पक्षका दुई कित्ता थिए । एक टिमको नेतृत्व गरिरहेका थिए एकलाल श्रेष्ठ । जसलाई ‘वान टिम’भन्दै एमाले मकवापुर वृत्तमा चर्चा हुने गरेको थियो । ‘वान टिम’ युवा नेताहरुको बाहुल्यता रहेको थियो । युवा नेताहरु सन्तोष चौलागाई ,नरेन्द्र भण्डारी, विद्यार्थी नेताहरु शिवहरी दाहाल, किशन घिसिङ, विशाल पौडेल, महिला नेृत पार्वती राना, खेलकुद क्षेत्रका धरम लामा, विश्व राई लगायतका रहेका थिए ।

ओली पक्ष कै श्रेष्ठ ईतर टिमको नेतृत्व हिदम लामा, नविन सिग्देल लगायतले गरिरहेको थिए जसमा युवा नेताहरु सानु लामा, सुनिल लोप्चन, विद्यार्थी नेता सन्तोष पौडेल, आशिष अस्लामी मगर र मदन भण्डारी स्पोर्टस एकेडेमीका कार्यकर्ताहरु थिए । केहि समय अगाडी भएको एमाले मकवानपुरको जिल्ला अधिवेशनमा निर्वाचन नगरी अध्यक्ष एकालाल श्रेष्ठलाई चुनेपछि विवाद सुरु भएको थियो । तर बुधबार जिल्ला कमिटीको वैठक बसेर श्रेष्ठ सहित पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले आफु निकट कार्यकर्ता र वान टिमका सदस्यहरुलाई मनोनित गरेका थिए । जिम्मेवारी दिनेक्रममा वान टिमलाई मात्रै प्राथमिकता दिएको भन्दै एमाले मकवानपुरका प्रभावशाली नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केहि नेताहरुले पार्टी छोड्ने भन्दै सार्वजनिक रुपमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि मकवानपुर एमाले तरंगित भएको छ ।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बुधबार बसेको बैठकले २८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठन लगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको दाबी गरेपनि सोहि क्षेत्रका जिल्लामा चर्चित नेताहरुले विरोध गरिरहेका छन् । जिल्ला कमिटी सदस्यमा सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनाली मनोनित भएका छन् । यस्तै शिवहरी दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, विमला बर्तौला, सरिता परियार लगायत मनोनित भएका हुन् । जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, बलराम बल लगायतको सहभागिता रहेको थियो ।

असन्तुष्टि ब्यक्त गर्ने नेताहरुमा सचिवालय सदस्य फुर्बा दोर्जे लामा, उत्तम शर्मा न्यौपाने, सानु लामा र रमिला सापकोटा रहेका छन् । उनीहरुले फेसबुकमार्फत जिम्मेवारी नरहेको र आफ्रनो बाटोमा फरक हिसाबले अघि बढ्ने बताए । मकवानपुरे युवामाझ लोकप्रियता हासिल गरेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका युवा नेता सानु लामाले फेसबुकमा लेखेका छन्–‘अहिलेसम्म मलाई योग्य ठानी विभिन्न जिम्मेवारी दिनुहुने सम्पुर्ण प्रती हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । एकदम अत्यन्तै दुस्खद, मनले एकदमै नचाहेर पनि बाध्यताले यस्ता खाले परिवर्तन हुनु पर्ने परिस्थिति निम्त्यायो जिन्दगीमा,कोहि कसैलाई कुनै खालको दोष नदिईकन कुनै हालतमा अब पार्टीको कुनै खालको गतिविधिमा संलग्न हुँदै नहुने सम्पुर्णमा जानकारी गराउन चहान्छु धन्यवाद ।

अबको दिनको मेरो जिन्दगी फरक हिसाबले चलाउने कोशिस गर्नेछु।’ त्यसैगरी अर्का नेता उत्तम शर्मा न्यौपानेले लेखेका छन् ‘लामो शृफ्ला बाट बिदा हुने निर्णय गरे । बिगत देखिका सहयोगी मन हरुमा साधुबाद ।’ न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौाडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष उम्मेदवार थिए । वर्तमान पार्टी अध्यक्ष एकालाल श्रेष्ठले अन्तरघात गरी कााग्रेसका सबिन न्यौपानेलाई जिताउन मद्दत गरेकाले वडाध्यक्षबाहेक अन्य सदस्य पदहरुमा मात्रै एमालेका उम्मेदवार बिजयी भएको भन्दै पार्टीमा ठूलो छलफल र बहस गर्दै तत्कालीन पार्टी सचिव श्रेष्ठलाई कारबाहीको माग गरिएको थियो ।

त्यसैगरी नेतृ रमिला सापकोटाले पनि सामाजिक सञ्जालमा लेखेकी छिन् ‘कसैसङ केही गुनासो छैन गुनासो आफै सङ छ पस्चताप आफै सङ छ राजनीति गर्न जानेकी रहेनछु र अब कोसिस पनि गर्दिन भयो पुग्यो अब धेरै नै भयो अब विश्राम लिनु पर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ अरुको हिसाब ले होइन । त्यसले आज कठोर भएर निर्णय गर्दैछु । घर परिवार जगिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य। ’ यस्ते सचिवालय सदस्य रही काम गरिसकेका नेता फुर्बा दोर्जे लामाले फेसबुकमा लेखेका छन् –‘मकवानपुर जिल्ला पार्टि कमिटिको सङ्गठित जिम्मेवारिबाट बिदा लिने दिन पनि आए जस्तो लगेको छ है ।’